Wednesday, September 29, 2010

देखिएका गगन र नदेखिएका गगनहरु

                गगन थापा,सहरमा जसको चर्चा छ । नेपाली काँग्रेसको १२ औं महाधिवेशनबाट लोकप्रिय मत प्राप्त गरेर बिजयी केन्द्रिय सदस्य । महाधिवेशनले ६१ जनालाई केन्द्रिय सदस्य बनाएको छ तर सबैभन्दा बढी चर्चाका पात्र गगन बनेका छन् । विद्यार्थी नेतादेखि युवा नेता हुदै उनी काँग्रेसको केन्द्रिय सदस्यसमेत बनेका छन् यतिबेला । यो उनको ठूलो राजनितीक फड्को हो । त्यसको उचाई कायम राख्न उनकासामु ठूलो चुनौती पनि रहेको छ ।

          छोटो समयमै राजनितीको लामो दूरी तय गर्न गगन सफल भएका छन् । लोकतान्त्रिक आन्दोलनका समयमा उनको भाषणले मात्रै पनि आन्दोलनकारीहरुलाई शक्ति प्रदान गरेको हुन्थ्यो । त्यसैले पनि उनी लोकप्रिय हुदै गए । नेपाली काँग्रेसले संवैधानिक राजतन्त्रको गुणगान गाईरहदा उनी गणतन्त्रको नारा घन्काईरहेका हुन्थे । त्यसैले पनि तत्कालीन निरकुंश राजतन्त्रको विरोध गर्नेहरु उनका समर्थक बने । गगन थापा आफ्नै पार्टीभित्रका आलोचित पात्र पनि हुन् । काँग्रेसी चियागफहरुमा गगनका कमजोरीहरुको चर्को आलोचना भईरहन्छ,सायद त्यसभित्र प्रतिशोधको भावना पनि लुकेको होला । तर गगनसंग कुनै प्रतिशोध राख्न नपर्ने माओवादी उपाध्यक्ष डा.बाबुराम भट्टराईकै भनाईमा पनि गगन भविष्यमा केही गर्नसक्ने आशावादी नेता हुन् । भट्टराई गगनको राजनितीक भविष्यका बारेमा त्यत्तिधेरै विश्वस्त देखिन्छन् कि त्यत्ति विश्वास त उनलाई गगनको पार्टीको भविष्यका बारेमा पनि लाग्दैन । यस्ता अनेकन  सत्यहरु छन् जसले गगनको राजनितीक साखलाई दिनदिनै बढाउदै लग्यो । तर यी सबैकुरा गगनको नाम सुन्ने सबैलाई थाहा छ । थाहा नभएका र विचार नपुगेका धेरै कुराहरु छन् जसले गगन थापालाई आजको स्थितिमा पु¥याउन मद्दत ग¥यो । 

              गगन थापा काँग्रेसको केन्द्रिय राजनितीमा पुग्नु काँग्रेस र काँग्रेसीहरुको लागि कुनै ठूलो उपलब्धी होईन । यो नितान्त्त गगनको उपलब्धी हो र उनले उपलब्धीको सही रक्षा गर्न सकेमात्रै काँग्रेस र काँग्रेसजनले केही उपलब्धी पाएको महसुस गर्ने छन् । त्यसका लागि केही समय कुर्नैपर्ने हुन्छ । गगन थापाकै समकक्षी अन्य युवाहरुले पनि अहिलेको केन्द्रिय समितिमा स्थान पाएका छन् । तर सहरमा तिनको चर्चा कम छ । सायद बाजुरामा गगन केन्द्रमा आएको भन्दा पनि बद्री पाण्डे केन्द्रमा आएको कुराको बढी चर्चा भईरहेको होला । बद्री पाण्डेको प्रसंग जोड्नुको सान्दर्भिकता यहाँनेर छ कि गगन र बद्रीका बिचमा धेरै समानताहरु छन् । गगनले जत्तिको सपना उनले पनि देखेका छन् । दुवैजना युवा काँग्रेसी नै हुन् । दुवैजना नेविसंघका पूर्वमहामन्त्री पनि हुन् । अहिले दुवै काँग्रेसको केन्द्रिय सदस्य बनेका छन् । तर गगनको जति चर्चा छ,त्यति बद्रीको छैन ।

             कारण धेरै छन्,गगनका राजनितीक सफलता पछाडीका । राजधानी काठमाडौंमा उपलब्ध सबैखालको सुविधा आत्मसाथ गर्न गगनलाई अप्ठ्यारो थिएन । त्यसैले पनि उनको राजनिती सहज बन्यो । गगनले राजधानीको महँगो बोडिङ पढ्दै गर्दा बद्री पाण्डे बाजुराको कुनै गाउमा घण्टौ हिडेर स्कुल पुगे होलान् । गगन पूर्व सञ्चारकर्मी पनि हुन् । राजधानीका मुख्यमुख्य सञ्चारगृहमा उनको पहँुच सधै हाबी भयो । बद्री पाण्डेको नामैमात्रै पनि धेरै काँग्रेसीले चुनावको परिणाम पछि  सुनेका होलान् । कारण उनी मिडियाको नजरमा परेनन् । लोकतान्त्रिक आन्दोलनताका गगन नेविसंघका महामन्त्री थिए । त्यसैले पनि आन्दोलनका सभाहरुमा उनले स्थान पाए । सायद नेविसंघका पूर्व अध्यक्ष विश्वप्रकाश शर्माले समयमै अधिवेशन नगरेर अहिलेको नेविसंघजस्तै गरी अगाडी बढेको भए आन्दोलनताका गगन नेविसंघको महामन्त्री पनि हुन्थेनन्,सायद आन्दोलनका सभामा वक्ता बन्नुपनि उनका लागि कठिन हुन्थ्यो होला । समग्रमा गगन काँग्रेसी राजनितीभित्रका एक भाग्यमानी पात्र हुन् । उनमा युवा जोश छ,अध्ययनशीलता छ,तर्क छ र लोकप्रियता पनि छ । त्यसका बाबजुद पनि राजधानीको सुविधा र सहजता गगनको राजनितीक उचाईको अर्को सहयोगी पाटो हो ।

               गगन थापा नेपाली काँग्रेसभित्रका अपवाद होईनन्,उनीजस्ता धेरैछन् । काँग्रेसको राजनितीमा केही गरौं भनेर लागेका निष्ठावान्,तर्कशील,लगनशील र ईमान्दार युवाहरुको कमी छैन । तर पनि सबैजना गगन बन्न सकिरहेका छैनन् । सबैसंग राजधानी छैन,सञ्चारमाध्यमसंगको सामीप्यता छैन र त उनीहरु पछाडी छन् । यो यथार्थ गगनलाई समेत अवगत हुनुपर्छ । किनकी सहर केन्द्रित राजनिती गरेको आरोप उनलाई लाग्ने गरेको छ । यो आरोपलाई अब गगनको भूमिकाले मात्रै निरर्थक सावित गर्न सक्छ । सायद यो आरोपलाई पन्छाउनुपनि गगनको अबको जिम्मेवारी हो ।

गगन सुविधामा हुर्किए,केन्द्रिमा छाए र नेता भए,यो वास्तविकता हो । तर त्यो भन्दा निकै टाढा गगन थापाको अर्को विशेषता छ । त्यो कुनै नेताविशेषको पछि नलाग्ने । गगनजत्तिकै लाग्ने अन्य युवा काँग्रेसीहरु ठूला नेताको फेरी समातेर राजनिती गर्न खोज्छन्,त्यो दुष्कामबाट टाढा गगन धेरै पर देखिन्छन्,आजका मितीसम्म । यदी अन्य युवा नेताहरुले ठूला नेताको आशीर्वादको पछाडी लाग्न छोडेभने काँग्रेसमा युवाहरुको उपस्थिति संख्यात्मक रुपमा मात्रै नभई गुणात्मक रुपमै सबल हुनेछ ।

             अन्त्यमा,गगन केन्द्रमा पुग्नु मात्रै काँग्रेसीहरुको लागि सफलता होईन । गगनजस्ता अन्य युवाहरुलाई पनि त्यो स्थानमा पु¥याउनुमा काँग्रेसीहरुको सफलता झल्किने छ । सबैतिर चर्चित,लोकप्रिय र देखिएका गगन बल्ल केन्द्रमा पुगेका छन्,अब नदेखिएका दुरदराजका अन्य गगनहरुलाई पनि त्यो स्थानसम्म पुर्याउने हो भने काँग्रेस साच्चैको नया बन्नेछ । काँग्रेसभित्र नदेखिएका गगनहरु पनि छन्,जसको खोजी अब छिट्टै काँग्रेसजनले गर्नुपर्छ । देखिएका गगनलाई बधाई छ , नदेखिएका गगनहरु पनि छिट्टै देखिने हैसियतमा पुगुन् । शुभकामना ।

             २०६७ साल असोज १४ को नागरिक दैनिकमा प्रकाशित

Wednesday, September 22, 2010

शुसील कोईराला ,एक निष्ठावान् नेता



                   पिता बोधप्रसाद र माता कुमुदनी कोईरलाका ९ जना सन्तानमध्येका साईला छोरा हुन् शुसील कोईरला । जन्मकुण्डली हराएकोले उनको वास्तविक जन्ममिति कहिले हो त्यसको जानकारी कसैलाई छैन,तर विद्यालयमा भर्ना हुनेबेला उनको अन्दाजमा जन्ममिती वि.सं १९९४ माघ २१ गते बिहीबार राखिएको थियो । विराटनगरमा जन्मिएका कोईरालाको बाल्यकालको केही समय त्यही बित्यो । त्यसपश्चात कञ्चनपूर हुदै नेपालगञ्ज पुगेर उनले प्रारम्भिक शिक्षा पूरा गरे । उनले हाईस्कुल पढ्न थाल्दा देशमा राणाविरोधी क्रान्ति अन्तिम चरणमा पुगिरहेको थियो । सानैदेखि विपी कोईरालाको परिवारसंग निकटता भएकोलेपनि उनमा विपीको ठूलो प्रभाव परेको थियो । त्यसैले सानैदेखि उनी राणविरोधी आनदोलनका पर्चा पम्प्लेटहरु बाड्दै हिड्थे ।

                  २००७ सालको क्रान्तिपछि अध्ययनका लागि उनी बनारस पुगे । उनले बि.ए. पास गर्ने तयारी गर्दैगर्दा नेपालमा राजा महेन्द्रले कु गरेर प्रजातन्त्रको चीरहरण गरे । नेपालमा विपी कोईराला लगायतका नेताहरु पक्राउ परेपछि शुसीलले भारतमा नै पञ्चायतविरोधी क्रियाकलापहरु सञ्चालन गरिरहे । पञ्चायतकालमा विमान अपरण गरेको आरोपमा उनले लामो समय भारतमा जेलसजाय भोगेका थिए । २०३६ सालको जनमतसंग्रह हुनुभन्दा १५ दिनअघि मात्रै उनी स्व.गिरिजाप्रसाद कोइएरालासंग नेपाल फर्किएका थिए ।
         
                   २०४२ सालको सत्याग्रहमा पनि पटकपटक जेलनेल भोगेका शुसील कोईराला त्यसअघि नै २०३५ सालमा नेपाली काँग्रेसको केन्द्रिय सदस्य भईसकेका थिए । विपी कोईरालको निधनपश्चात पार्टीको कामका सिलसिलामा विदेश भ्रमण जानुपर्दा उनले आफ्नो जग्गासमेत बेचेर खर्चको जोहो गरेका थिए ।
२०४८ सालको आम निवार्चनमा बाके क्षेत्र नम्बर २ बाट निर्वाचित भएपनि उनी कहिल्यैमन्त्री भएनन् । परराष्ट्रमन्त्री बन्नका लागि पार्टीका शीर्ष नेताहरु गणेशमानसिंह,कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोईरालाको आग्रहलाई उनले अस्वीकार गर्दै पार्टीको कामका लागि आजीवन क्रियाशील हुने प्रण गरेका थिए । २०५१ को झापा महाधिवेशनपश्चात काँग्रेसको विदेश विभाग प्रमुख भए । त्यसपश्चात २ पटक महामन्त्री बनेका कोईराला उपसभापति, कार्यबाहक सभापति हुदै हाल काँग्रेसको निर्वापचित सभापति समेत बनेका छन् ।
नेपाली काँग्रेसभित्र निष्ठाको राजनिती गर्ने र त्यागी नेताका रुपमा उनले आफूलाई सधै प्रस्तुत गर्दै आईरहेका छन् । हालसम्म कुनैपनि लाभको पदधारण नगरेका कोईराला सभापतिमा बिजयी हुनको लागि पनि उनको निष्ठावान् र त्यागी छविले नै सहयोग गरेका उनलाई बुझ्नेहरुको भनाई छ । शुसील कोईरालाले संगठनभित्र धेरै विवादहरुको सामनासमेत गरेका छन् । कोठे राजनिती गर्ने,गुटमा विश्वास गर्ने र भातृसंगठनहरुमाथि अनावश्यक हस्तक्षेप गर्नेगरेको आरोप उनलाई पार्टीभित्रबाटै लागिरहेको छ । तर पनि बार्हौं महाधिवेशनबाट उनी सभापति पदमा निर्वाचित भएका छन् । सभापति बनेलगत्तै स्वास्थ्यमा समस्या देखिएर उनी अहिले उपचाररत छन् । तरपनि उनमा जिम्मेवारी बढेको छ र आफ्नो राजनितीक जीवनमा लागेका यावत् आरोपहरुलाई गलत सावित गर्ने अवसर पनि उनले पाएका छन् । विपी कोईराला र गिरिजाप्रसाद कोईरालालाई आफ्नो आदर्श ठान्ने शुसील कोईरालाले सभापति रुपमा नेपाली काँग्रेसलाई कसरी अगाडी बढाउछन्,त्यो भने भविष्यको गर्भमा नै रहेको छ ।

Wednesday, September 1, 2010

संसदीय ब्यवस्थामा माओवादी

   


नकुल अर्याल  

पाँचौपटकको चुनावमा पनि प्रधानमन्त्री बन्न नसकेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रचण्ड शैलीमा संसदीय ब्यवस्था असफल भएको दाबी गरे । संसदवादी दलहरु प्रचण्डको अभिब्यक्तिलाई “नाच्न नजान्ने आँगन टेढो” भन्ने आरोप लगाए । आरोप लगाउनेहरुले सोचेनन् कि प्रचण्डको दाबीका पछाडीका कारकहरु के–के हुन् ।
       

        संसदीय अङ्कगणितलाई स्वीकार्ने हो् भने माओवादी देशकै सबैभन्दा ठूलो संसदीय शक्ति हो । प्रजातान्त्रिक अभ्यास भएका मुलुकहरुमा संसदको ठूलो दलले सरकार मात्रै बनाउदैन,उ सिंगो ससंदीय ब्यवस्थाको रक्षक पनि हुन्छ । यद्यपी यो यथार्थलाई माओवादीले स्वीकारेको छैन । अझ माओवादीकै भनाईमा उनीहरु संसदीय ब्यवस्थामा कत्तिपनि विश्वास गर्दैनन् । प्रधानमन्त्री भएका बेला एकपटक प्रचण्डले संसदमै भनिदिए कि माओवादी संसदीय ब्यवस्थामा  विश्वास गर्दैन । त्यतिबेला अहिले आफूलाई संसदवादी बताउने ठूला पार्टीहरुले विरोध त के नियमापत्ति समेत जनाउन सकेनन् । जसले संसदविरोधी माओवादीलाई थप ऊर्जा दियो । प्रचण्डको पछिल्लो अभिब्यक्ति त्यही ऊर्जाको प्रतिफल हो । संसदको सबैभन्दा ठूलो दलको नेता भएका प्रचण्डले सिंगो ब्यवस्थालाई असफल घोषणा गरिदिए । जुन स्वभाविक पनि हो । जितको सन्देश दिन जोकोही बिजेता आतुर हुन्छ । भलै प्रधानमन्त्री चुनावमा प्रचण्ड हारिरहेका छन् तर संसदीय ब्यवस्थालाई असफल बनाउने उनको निहित स्वार्थ पूरा गर्ने क्रममा उनले क्रमशः जित हात पारिरहेका छन् ।
       माओवादी संसदीयब्यवस्थाका बारेमा धेरै प्रष्ट छ । उसले कहिल्यै पनि संसदीय ब्यवस्था स्वीकार गरेको छैन । माओवादी जनवादी ब्यवस्था चाहान्छ र त्यसको लागि जनविद्रोह समेतको तयारी उसले गरिरहेको छ । संसदीय ब्यवस्था स्वीकारेको झैं गरेर माओवादीले ससदवादी शक्तिहरुको ढाडमा टेकेर टाउकामा हान्ने तयारी गरेको छ । जसलाई काँग्रेस एमाले लगायतका दलहरुले बुझ्न सकेका छैनन् । संविधानसभाको निर्वाचनमा सहभागि भएको आधारमा मात्रै माओवादीलाई संसदीय परिधिभित्र ल्याएको सपना देख्नु नै अन्य संसदवादी दलहरुको कमजोरी हो । माओवादी न हिजो संसदलाई सफल देख्थ्यो,न आज उ संसद सफल हुन दिन्छ न त भविष्यमा नै । त्यसको पछिल्लो उदाहरण प्रधानमन्त्रीका  चुनावहरुमा देखिएका गैरसंसदीय क्रियाकलापहरु नै हुन् । प्रधानमन्त्री चुनाव अगाडी २५ दल भएको संविधानसभामा अहिले २७ दल पुगेको छ । संसदभित्रको निर्णायक हिस्साले प्रजातान्त्रिक ब्यवस्थाको सुन्दरता मानिने मतको अधिकारलाई तटस्थाताको घेराले बन्धकमा पारेका छन् । संसदहरु ख्रिदबिक्रीमा परेका तथ्यहरु सार्वजनिक भईरहेका छन् । यस्ता गैरसंसदीय क्रियाकलाप जो माओवादीको संसदीय ब्यवस्थालाई असफल सावित गर्ने रणनितीका सहयोगी मात्रै बनेका छन् ।
        

            संसदीय ब्यवस्था आफैमा सफल अथवा आफैमा असफल ब्यवस्था होईन । संसदीय ब्यवस्थाको सफलता अथवा असफलता त संसदभित्रका दलहरुको क्रियाकलाप र स्वार्थले निर्धारण गर्छ । जब संसदको सबैघन्दा ठूलो शक्ति नै संसदीय ब्यवस्थाको विपक्षमा छ भने त्यहाँ संसदीय ब्यवस्था निश्चय पनि असफल नै हुन्छ । यो यथार्थलाई नेपालका संसदवादी शक्तिहरुले स्वीकार्नै पर्छ । माओवादी अहिलेको संसदीय बयवस्थाको उपयोग गरेर जनवादी सत्ता स्थापना गर्ने लक्ष्यका साथ अगाडी बढीरहेको पार्टी हो । यो हिसाबले गर्दा संसदीय ब्यवस्था उसको उपयोगितावादको राजनितीको अर्को कित्ता मात्रै हो । तर,सबैले बुझ्नुपर्ने कुरा के हो भने माओवादी किन दोधारे निती बोकेर हिडिरहेको छ । यदि उ संसदीय ब्यवस्थाबाट मुलुकको हित देख्दैन भने उपयोगको नाममा किन संसदभित्र अल्झिरहेछ ? यही प्रश्न माओवादी नेताहरुलाई गर्ने हो भने उनीहरु संसदीय ब्यवस्थालाई सुधार्दै जनवादी ब्यवस्थामा रुपान्तरण गर्न लागिपरेको बताउछन् । अब यहानेर माओवादी नेताहरुसंग मेरो जिज्ञाशा,तपाईहरुलाई थाहा छ कि बोकोले दाँइ गर्दैन र दाँइ गर्न गोरु नै चाहिन्छ । यति थाहा हुदाहुदै पनि किन माओवादी बोको पालेर दाँइ गर्ने सपना देखिरहेछ । हिम्मत भए उसले अहिले नै गोरु पाल्ने आँट गर्न‘पर्छ । होईन भने बोकोलाई जति दानापानी खाएपनि उ गोरु बन्न सक्दैन माओवादीले राम्रोसंग बुझोस् । माओवादीको बुझाईले साच्चिकै संसदलाई असफल देखेको हो भने,आफ्ना सबै सांसदहरुलाई राजीनामा दिन लगाएर असफल संसदको भत्ता बुझ्नबाट बञ्चित गराउन सक्नुपर्छ । विद्यमान संसदीय ब्यवस्थाको विकल्प सार्वजनिक गरेर त्यसको स्थापनामा लाग्नुपर्छ । संसदीय सुविधा भोगेर संसदीय ब्यवस्थालाई असफल बनाउने रणनिती जति लम्बिन्छ माओवादी त्यति नै पछाडी पर्छ ।
                                       
                                                             –२०६७ भदौ १७ गतेको नागरिक दैनिकमा प्रकाशित

Thursday, August 26, 2010

विचरा किसुनजी

हासिरहेका किसुनजी र भासिदै गएको आश्रम

कृष्णप्रसाद भट्टराई पूर्वप्रधानमन्त्री मात्रै होईनन् नेपालको आधुनिक राजनितीको जिउदो इतिहास पनि हुन् । उमेर ८७ वर्ष पुगिसकेका अविवाहित सन्त नेता किसुनजी २ पटक यो देशको प्रधानमन्त्री बने । नेपालकै पहिलो संसदका यिनी पहिलो सभामुख समेत हुन् । आफ्नो जिन्दगी नै नेपाली राजनितीमा खर्चिएका छन् यिनले । प्रजातन्त्रको स्थापनाका लागि किसुनजीको योगदानको चर्चा शब्दले गर्न सकिदैन । काँग्रेसका संस्थापक समेत रहेका सन्त नेता यतिबेला काँग्रेसको राजनितीबाट टाढा भईसकेका छन् । कर्मयोगी र इमान्दार राजनितीज्ञ किसुनजीले देशको लागि जति नै त्याग गरेपनि अहिले जीन्दगीको उत्तरार्धमा उनी दखदायी जिन्दगी भोगीरहेका छन् । सरकारले उनलाई आश्रम बनाईदिएको थियो,किसुनजी त्यसमै खुसी थिए । तर एक्कासी त्यो खुसीमाथि तुषारापात भएको छ ।
           

              यथार्थ यस्तै छ, ८७ वर्षका किसुनजीलाई अहिले आफ्नो बसोबासको चिन्ताले समस्यामा पारेको छ । सरकारले दिएको आश्रम भासिदै गएको छ । मंगलबार रातीको वर्षाले त भासिदै गएको आश्रमको मुख्य कम्पाउण्ड वाल नै भत्काईदिएको छ । आश्रमको पाहुनाघरको आगन भत्किएको छ र सिंगो पाहुना घर नै धरापमा छ । किसुनजीको भान्छाघरमा पानी चुहिरहन्छ । घरका सबैजसो भित्ताहरु चर्किएका छन् ।
दृश्यमा देखिएको, घर जहा यो देशका पूर्वप्रधानमन्त्री बसीरहेका छन्,तर बसाई निकै कष्टपूर्ण छ । २ वर्ष मात्रै भयो किसुनजी यहा बस्न थालेको तर घरको अवस्था निकै नाजुक र खतरापूर्ण छ । आफ्नो दशकौं लामो राजनितीक जीवनमा आफ्ना लागि केही गरेनन् किसुनजीले,र अहिले किसुनजी एक्ला छन् र टाढा छन् यो राज्यको सम्मान र सद्भावबाट । र त सरकार आश्रम दिएर जिम्मेवारी पन्छ्याए झैं गरेको छ अनि आश्रम चै भासिदै गईरहेको छ  । किसुनजीले राजनिती सिकाएका मान्छेहरु अहिले कोही शितल निवासमा बस्ने भएका छन् त कोही बालुवाटार । तर किसुनजी भान्छामा पानी चुहिने,आगन भत्किएको र भासिदै गएको आश्रममा बुढेसकालका दिनहरु कटाउन बाध्य छन् ।
               

             किसुनजी र उनको आश्रमसंग जोडिएका वेदनाहरु अरु थुप्रै छन् । तर यहानेर चर्चाको अर्को विषय हो आश्रमको निर्माणमा भएको लापर्वाही । २ वर्षमै भत्कीएको यो आश्रमका लागि सरकारले लाखौं रुपैया खर्र्चिएको छ । तर आश्रम बनाउदा लाखौं रुपैया अनियमितता भएको तथ्यलाई पनि आश्रमको यो अवस्थाले पुष्टि गर्छ । धन्य यो देशको सरकार र बेईमानी ठेकेदारहरु जसले यो बढ्यौली यस्तो भासिनै लागेको घरमा राखेका छन् देशकै एउटा जिउदो इतिहासलाई ।  विचरा किसुनजी

Tuesday, August 24, 2010

उ गरेर उ गरौं... गाईजात्रे कविता

उसले उल्लाई उ गरेर उ गरेकोले नै
आज यस्तो दिन आएको हो
राजनितीमा उ गरेर उ गर्ने सिस्टम
नभएको भए आज तपाई हामी
उ गरेर उ गर्ने स्थितिमा हुन्थेनौ होला ।
चुनावमा गिरिजाबाबुले
प्रचण्डलाई मन खोलेर उ गरिदिए
माधवजी लाई त प्रचण्डले
गर्नु उ गरेर २ ठाउमा उ गरिदिए ।
माओवादी गर्नसके जति उ गर्यो
अनि ठूलो भागको उ हात पार्यो ।
राष्ट्रपति छान्ने बेला प्रचण्डले
गिरिजाबाबुलाई गर्नुसम्म उ गरे
लास्टमा गिरिजाबाबुले उ गररे
रामवरणलाई उ बनाईदिए
फू गरेर प्रचण्डलाई सडकमा झराईदिए ।
जतिठाउमा उ भएपनि माकुने उ भएरै छाडे
अहिले माधव उ गर्दिन भन्छन्
तर उनी उ गर्न बाध्य छन्
किनकी प्रचण्ड र रामचन्द्रले उ गरेर
उ गर्नै बिर्सिएछन् ।


यस्तै छ उ गर्नेहरुको चाला
तपाई हामी जनता चै
उ गर्न नि नपाउने
चु गर्न नि नपाउने
त्यही भएर त हो देशमा
हाम्ले खोजेजस्तो उ नआएको
म्याद थप्दा पनि उ ले उ बनाउला जस्तो छैन ।
त्यसैले सबै मिलेर एक चोटी उ गर्नुपर्यो

नेताहरु लाई उ गरेर उ गरियो भने मात्रै

हाम्ले खोजेजस्तो उ हात लाग्न सक्छ

उ नगरेसम्म नेताहरुले न उ बनाउछन्

न जनतालाई उ दिन्छन्

त्यसैले अब नेताहरुलाई

उ गरेर सु गर्ने नबनाएसम्म केही हुदैन

त्यसैले सबै जना मिलेर

हातमा हात मिलाएर

फेरी एकपटक
उ गरेर उ गरौ ।

Friday, August 20, 2010

विचरा नेविसंघ

           साउन १७ गतेको दिन थापाथली ईञ्जिनियरिङ क्याम्पसका पूर्व स्ववियु सभापति एवं नेविसंघका कार्यकर्ता सुदिप शर्मालाई अखिलका केटाहरुले कुटेछन् । त्यसको २ सातापछि बल्ल नेविसंघको केन्द्रिय समितीले थापाथली क्याम्पसमा विरोध प्रदर्शन गर्यो विहिबार । तर त्यहाँपनि प्रहरीले नेविसंघका नेता तथा कार्यकर्ताहरुको रामधुलाई गरेछ । विचरा नेविसंघ अखिलको पनि चुटाई,पुलिसको पनि चुटाई । अझैपनि घाईते सुदिप शर्मा मोडल अस्पतालमा उपचार गराईरहेका छन् । ४५ वटा त टाका मात्रै लगाईएको छ रे उनको टाउकोमा । मैले थाहा पाएसम्म काँग्रेसका कोही नेता पनि अझसम्म उनलाई भेट्न गएका छैनन् । बरु कहिलेकाही चुटाई खादाको पीडा भोगेका विद्यार्थीहरुले शुक्रबार १ घण्टा जति क्याम्पस क्षेत्रमा प्रदर्शन गरे । आरआर क्याम्पस अगाडी १५ जनाजति भेला भएका रहेछन् चक्काजाम गराउन । यसो नारा लगाउन मात्रै के भ्याएका थिए १ गाडी प्रहरी आईपुगे । त्यसपछि त ती विचरा नेविसंघका कार्यकर्ताहरुको के लाग्थ्यो र ? चक्काजाम त्यसै तुहियो । अलिअलि जाम भाको जस्तो पनि थियो । अगाडीबाट आईरहेको एउटा बाईकलाई विद्यार्थीहरुले राकेका थिए । ओहो बाईक चालक त त्यही नेविसंघका केन्द्रिय नेता नैनसिंह महरा रहेछन् । नेविसंघका विद्यार्थीहरु अभिवादन पो गर्दै थिए महरालाई । महरा धेरैबेर रोकिएनन् र बाइक लिएर हुत्तिहाले । नेविसंघका कार्यकर्ताहरु मुखामुख गर्न लागे ।
           बडो गजबको कुरा नेविसंघका कार्यकर्ता ४५ वटा टाका लगाएर हस्पिटलको बेडमा छन् । केही कार्यकर्ताहरु विरोध गरिरहेका छन् । केन्द्रिय नेताले समर्थन पनि गरेनन् आन्दोलनलाई बरु उल्लघंन गरेर नेता हुनुको सार्थकता देखाए । यतिबेला नेविसंघको ठाउमा कुनैपनि अखिलका कार्यकर्ताहरु चुटिएको भए अहिले देश ठप्प हुन्थ्यो । ती पार्टीका नेता कमरेडहरु अस्पतालसम्म पुगेर घाईते कार्यकर्ताहरुलाई भेटिरहेका हुन्थे । अनि कुनै नेताले आफ्नै आन्दोलन उल्लंघन गरेको भए,सायद धुलोपिठो पार्थे होलान् । तर के गर्नु ? विचरा नेविसंघ ।
अहिले महाधिवेशनको तयारी गर्ने नेताहरु पार्टीभित्र युवाहरुलाई सुरक्षित र नेतृत्वतहमा राख्ने बताउदै आईरहेका छन् । तर अझै कुटिदै छन् नेविसंघका कार्यकर्ताहरु । भन्नलाई त कपाल फुलेका काँग्रेसी नेता पनि काँग्रेसलाई युवा बनाउने भनेर भाषण गर्ने गर्छन् । तर यथार्थमा काँग्रेसभित्र भएका अलिअलि विद्यार्थी युवाहरु पनि दिनदिनै कुटिदै छन् । त्यसमा न कुनै नेताको विज्ञप्ती निस्कन्छ,न कसैले संगठनको सुरक्षाको लागि पहल गर्छन् । माउ पार्टीका नेता त टाढाको कुरा,नेविसंघ नै हाँकेर बस्नेहरु पनि भाषणमा मात्रै ठूलो कुरा गर्छन्,खासमा ती त सब भन्ने कुरा मात्रै हुन् ।
        यसो विचार गर्दा त बलियै देखिन्छ संगठन । नहोस् पनि कसरी अरु संगठनमा त के छ कुन्नी , अहिले ११ जना उपाध्यक्ष छन् यो नेविसंघ भन्ने संगठनमा । ४ जना महामन्त्री । २ दर्जन त सहमहामन्त्री मात्रै छन् । केन्द्रिय समितिको आकारका बारेमा त स्वंय प्रदीप पौडेललाई थाहा छैन । त्यसैले त यहा कुदिएको कुटियै छन् नेविसंघ भनाउदाहरु । त्यसैले त यस्तै हो । काँग्रेस युवा बन्दैछ भन्ने हल्ला छ बजारभरी,तर याद गर हो कुटाई खादै हिड्ने नेविसंघका कार्यकर्ताहरु त्यो हल्ला मात्रै हो । किनकि यो हल्लै हल्लाको देश हो । विचरा तिमीहरु...विचरा नेविसंघ

Tuesday, August 17, 2010

कपाल अर्थात् नेपाल

कतै कालो कतै खैरो
कतै लामो कतै छोटो
कतै कोरिएको
कतै त्यसै छोडिएको
जगल्टा परेको छ कतै
त फिजारीएको छ कतै
जुम्रा र लिखाहरुको बिचमा पनि
चायाहरुको अस्तित्व हेर्नलायक छ
न झगडा न लफडा
केबल सुन्दर टाउको,सुन्दर कपाल
सुन्दर,शान्त र विशाल
अर्थात्,हिजोको नेपाल

कालो कालैतिर,खैरो खैरैतिर
जुम्रालाई जुम्राको ठाउ
लिखालाई लिखाको ठाउ
सबैको आफ्नै प्रदेश,आफ्नै गाउ
चायाहरुलाई कता जाउ कता जाउ
एउटै टाउकोमा पनि
केबल द्वन्द
त्यसैले कैचीहरु कस्सिएर लागेका छन्
सिध्याउन टाउकाको अस्तित्व
सुस्ता झैं काटिदैछन्
अरु कैयौ कपालहरु
जुम्राहरु अझै आन्दोलनमै छन्
लिखाहरुलाई आत्मनिर्णय चाहिएको छ
जगल्टेहरु स्वायत्तता माग्दैछन्
विचरा टाउको
न सुन्दर न विशाल
केबल काटिन लागेको कपाल
अर्थात्,आजको नेपाल ।

–आर.आर.क्याम्पसमा आयोजित कविता प्रतियोगितामा प्रथम हुन सफल कविता

बिकास कोईरालालाई खुलापत्र

बिकास दाई
जय नेपाल

फेसबुकको दाईको एकाउन्टमा रहेको आफ्नै पार्टी कार्यालयको ढोकामा निकै आक्रोशका साथ ताडफोड गर्दैगरेको दाईको फोटो हेर्दै यो पत्र लेखिरहेको छ । सर्वप्रथम चितवन जिल्लाको सभापतिमा बिजयी हुनुभएकोमा बधाई छ । यो बधाईसंगै अनेक अपेक्षाहरु पनि जोडिएर आएका छन् । यतिबेला तपाई चितवनको सभापति मात्रै हुनुन्न,सिंगो नेपाली कांग्रेसलाई युवा बनाउने अभियानको एउटा पक्तिंमा समेत उभिनुभएको छ । यतिबेला काँग्रेस अग्निपरिक्षामा छ । काँग्रेसीहरु अझै पनि ईतिहासको नारा लगाएर बाँचिरहेका छन्,वर्तमानमा भने उनीहरु एउटा दुखपूर्ण वर्तमानलाई आत्मसाथ गरिरहेका छन् । काँग्रेसको ईतिहासमै यसपालीको अधिवेशन सबैभन्दा बढी प्रजातान्त्रिक बनेको छ । सबैले यतिबेला स्वीकारी रहेको एउटा सत्य तपाईलाई स्मरण गराउन चाहान्छु “अब नेपाली काँग्रेस बुढाहरुको मात्रै पार्टी रहेन । काँग्रेस त अझ युवा बन्दैछ ।” यो सत्यको एउटा पाटो तपाईको जितसंग जोडिएको छ । हुन त यसलाई आफ्नो मात्रै जितको रुपमा नबुझ्नुहोला, यो चितवन काँग्रेसको पुरानो पुस्तादेखि स्कुले पुस्तासम्मको जित हो ।
दाईमाथि धेरै चुनौतीहरु आईपरेका छन्,संगसंगै अवसरहरु पनि । तपाईको कार्यसमितिमा देवेन्द्र गुरुङजस्ता अनुभवी सचिव पनि हुनुहुन्छ । जसले पुराना काँग्रेसीहरुसंग सहकार्यको लागि तपाईलाई सेतुको रुपमा सहयोग गर्नेछ । दाईले यसअघिका दिनमा नेपाली काँग्रेसको कार्यकर्ताको रुपमा पार्टीका लागि गरेका कामहरुको मुल्याङ्कन बल्ल भएको छ । उम्मेदवारी घोषणा सभामा दाईले प्रतिबद्धता गरेझै नेविसंघको चुनावमा उम्मेदवार हुदा भएका कमजोरीहरु जिल्ला अधिवेशनमा दोहोरिन पाएन । दाईमाथि आरोपका खातहरु छन् । ती आरोपहरुको जवाफ मेरो पत्रले भन्दा पनि दाईको कार्यकालले नै दिनेछ भन्ने अपेक्षा गरेको छु । यतिबेला चर्चाको विषय त विकास कोईरालालाई चितवनका काँग्रेसीहरुले विश्वास गर्नुको कारण र राखेका अपेक्षाहरु नै हुन् । पहिलो कुरा त यतिबेला नारायणगढका काँग्रेसीहरु पनि सुरक्षाको खोजी गरिरहेका छन् । माडी,कठार,कविलास,शक्तिखोर लगायतका ठाउहरुमा काँग्रेसीहरुको अवस्था के छ दाईलाई अवगत नै छ । नेविसंघको संगठनमा रहदा वा नरहदा चितवनका काँग्रेसजनहरुको धेरथोर अध्ययन गर्ने मौका मैले पाएको छु । त्यसका आधारमा आगामी कार्यकालका लागि तपाईले गर्नुपर्ने थुप्रै कामहरु मैले देखेको छ ु । त्यसको लागि ठूलै चुनौती छ तर दाईको युवा जोश र आस्थावान् काँग्रेसीहरुको साथका अगाडी त्यो ठूलो समस्या होईन ।

संविधानसभाको निर्वाचनका बेला १२ बजेपछि बुथमा बस्न नसकेर माओवादीको डरले भाग्दै गरेका काँग्रेसीहरु मैले नजिकैबाट देखेको छु । त्यसकै परिणाम थियो चितवनका बामपन्थीहरुले“चितवन जिल्ला,लाल किल्ला” भनेर नारा लगाउने अवसर पाउनु । स्ववियु चुनावको समयमा अखिलको आक्रमणबाट बच्न पार्टी कार्यालयमा समोसा खादै बसेका नेविसंघका कार्यकर्ताहरुको बारेमा मलाईभन्दा दाईलाई नै बढी थाहा छ । अर्को मुख्य कुरा काँग्रेसीहरु अझैपनि रामपूरमा विकास दाईको बलियो पकड छ भन्छन्,स्ववियु चुनाव ताका रामपूर नजिकै बस रोकेर अखिलले नेविसंघका कार्यकर्ताहरुलाई मरणासन्न हुनेगरी चुटेको सम्झदा अझै मन सिरिङ्ग हुन्छ । चितवन हस्पिटलका बेडहरुमा उपचार गराईरहेका कन्या कलेजका साथीहरु रुदै गरेको दृश्य मेरो आखामा भन्दा दाईको मनमा बढी विम्वित भईरहेको होला । यो त राम्रो भयो कि अहिलेको अधिवेशनमा दाईलाई नेविसंघको सिंगो जिल्ला पक्तिंले सहयोग गरेको । सायद रामकृष्ण दाईको पराजयको कारण पनि यस्तै यस्तै घटनाहरु हुन् । यतिबेला यी घटनाहरु दाईको लागि अवसर पनि हुन् । अबको दिनमा चितवनमा नेविसंघहरु चुटिएको खबर सुन्नपरे त्यो सबैभन्दा पीडादायी हुनेछ । यसको अर्थ नेविसंघले अरुलाई आक्रमण गरे खुसी हुनेछु भन्नेपनि होईन । यसको मतलब अब संयमित र सुरक्षित दुवै खालको नेविसंघ बन्नुपर्छ । मैयादेवीका विद्यार्थी साथीहरुले अघिल्लो स्ववियु चुनावमा भित्तामा पोष्टरसमेत टाँस्न नपाएको गुनासो गर्दैथिए । यही वर्षको अन्त्यतिर फेरी स्ववियुको चुनाव हुदैछ ,त्यतिबेला त्यस्तो सुन्न नपरोस् । अबको स्ववियु चुनावमा फेरीपनि अपवित्र गठबन्धन बन्नसक्छ अखिलहरुको तर नेविसंघले मैदान छोड्ने भन्दा पनि ईतिहास तोड्ने चेष्टा गर्नेछ र त्यसमा दाईको नेतृत्वदायी भूमिका सहयोगि बन्नेछ भन्ने अपेक्षा गरेको छु । राष्ट्रिय राजनितीमा नेपाली काँग्रेसलाई एक्ल्याएर अगाडी बढ्ने गृहकार्य गरिरहेका छन्,अन्य दलहरु । यदि त्यसो भयो भने चितवन जिल्लाको काँग्रेस र काँग्रेसीहरुलाई दाईको उपस्थितिले उत्साह प्रदान गर्नुपर्छ ।

सभापतिमा निर्वाचित भएलगत्तै दाईले गरेका प्रतिबद्धताहरुले आशावादी बनाएको छ । तर जब ती प्रतिबद्धताहरुको कार्यान्वयन हुदै जान्छ त्यतिबेला मात्रै ढुक्क हुने अवस्था बन्नेछ । नियमित राजनितीक प्रशिक्षण अत्यावश्यक हो र त्यसको कार्यान्वयन दाईको प्रतिबद्धता भन्दा द्रूत रुपमा हुनेछ भन्ने अपेक्षा तपाई र काँग्रेसका मजस्ता शुभचिन्तकहरुले लिएका छन् । काँग्रेस निकटका लगानीकर्ता खोजेर एफ.एम खोल्ने दाईको योजना राम्रो छ । तर त्योभन्दा पहिला चितवनका सबै सञ्चारमाध्यममा कार्यरत काँग्रेसका शुभेच्छुक पत्रकारहरुलाई सहयोगीको रुपमा ग्रहण गर्ने संस्कार चितवनका काँग्रेसीहरुले बनाउन जरुरी छ । हुन त केन्द्रसम्म पनि काँग्रेसका नेताहरु पत्रकारको उपयोग मात्रै गर्छन् सहयोग गर्दैनन् भन्ने आरोप लाग्ने गरेको छ पहिला त्यसलाई तोड्नुपर्छ । प्रेसयुनियन र पार्टी बिचको सम्बन्ध जति नजिक हुनसक्छ काँग्रेस त्यति बलियो हुनेछ । काँग्रेसका नेताहरुले काखी च्याप्ने क्रान्तिकारी पत्रकारहरुले बसको यात्रा गरिरहदा रामपूरमा अखिलको आक्रमणमा परेका नेविसंघका कार्यकर्ताहरुलाई “बसबाट लडेर घाईते ” शिर्षकमा समाचार लेखेको कुरा दाईलाई अवगत नै होला । त्यसैले को आफ्नो हो र को पराई भन्ने कुरा चितवनको काँग्रेसले पनि बुझ्न जरुरी छ । आज कतिपय स्कुलहरुमा अखिलको रातो फेटा बाधेका किशोरहरु भेटिन्छन् तर नेविसंघका विद्यार्थी खोज्न गा¥हो पर्छ । तसर्थ नेविसंघको संगठन स्कुल तहसम्म पु¥याउने अभियानमा दाईले निर्णायक भूमिका खेल्नु आवश्यक छ । यस्ता धेरै कुराहरु छन् जसमा दाईसंग चितवनका काँग्रेसीहरुले ठूलो अपेक्षा राखेका छन् । दाईको कार्यकालमा ती अपेक्षाहरु पूरा हुनेछन् भन्ने अपेक्षा लिएको छु । आसन्न महाधिवेशनमा प्रतिनिधी भएर काठमाडौं आउने चितवनका प्रतिनिधीहरुले महाधिवेशनमा सार्थक सहभागिता गर्नेछन् भन्ने अपेक्षा लिएको छु ।

अन्त्यमा यी अपेक्षा र आग्रहहरुलाई दाईले सुझावको रुपमा लिनुहुनेछ भन्ने अपेक्षा गरेको छु । यतिबेला चितवन काँग्रेसको गाडी हाक्ने ड्राईभरमा तपाई नियुक्त हुनुभएको छ । तपाई कसरी गाडी हाक्नुहुन्छ र कहांसम्म पु¥याउनुहुन्छ भन्ने कुराले तपाई स्वंयको पनि गन्तब्य सुनिश्चित गर्नेछ । सफलताको लागि शुभकामना

बहुलबाद

नकुल अर्याल


          शब्दको खेलको समेत शिकार वन्नु पर्दा निर्माणाधीन नयाँ संविधान विवादमा तानिने क्रम जारी छ । निर्धारित समयमा जारी हनु नसकेको संविधान अझै पनि शब्द र त्यस्को आफु अनुकुल व्याख्यामा नअलमल्एिला भन्न सकिन्न । नया संविधानलाई अलमल्याउने विवादित बिषय तथा शब्द बनेको छ – वहुलवाद ।  संविधानले बहुलबादलाई अंगीकार गर्ने वा नगर्ने भन्ने विषयमा  दलहरुकाबिचमा ब्यापक असहमति रहेको छ । यस्ले फेरि एकपटक संविधान लेखनलाई चुनौति नदेला भन्न सकिन्न ।
          एकीकृत नेकपा माओवादी बहुदलीय ब्यवस्था मान्ने तर बहुलबाद नमान्ने बताउदै आएको छ भने काँग्रेस र एमाले बहुलवादबिनाको संविधान नस्वीकार्ने पक्षमा छन् । संविधान लेखनको क्रममा माओवादीले बहुदलीय ब्यवस्था स्वीकार त गरेको छ तर बहुलवादलाई भने अस्वीकार गरेको छ । खुलारुपमै जनवादी संविधान बनाउने उद्घोष गरिसकेको माओवादीको यो अडानले बहुलवादलाई लोकतन्त्रको गहना ठान्ने नेपाली काँग्रेस र नेकपा एमालेलाई सशंकित बनाएको छ । माओवादीले विदेशी,दलाल,राष्ट्रघातीहरुले पार्टी खोल्न नपाउने अडान लिएको छ । एकलवादबाट नै नया भविष्यको खोजी गर्नुपर्ने माओवादीको धारणा रहेको छ  ।
        अर्कोतर्फ लोकतन्त्रमा हरेक ब्यक्ति वा संस्थालाई आफ्ना विचार र सिद्धान्त अंगीकार गर्ने स्वतन्त्रता हुनुपर्छ भन्ने काँग्रेस एमालेको बुझाई रहेको छ । बहुलवादबिनाको लोकतन्त्र अपूर्ण हुने र संविधान पनि लोकतान्त्रिक बन्न नसक्ने भएको ठहर उनीहरुले गरेका छन् । त्यसैले पनि बहुलवाद बिनाको संविधान स्वीकार्ने पक्षमा उनीहरु रहेका छैनन् ।
       

        खासमा बहुलवाद भनेको विभिन्न विचार सिद्धान्त र वादमा विश्वास गर्ने जोकोहीले पनि समाजमा आफ्ना       गतिविधिहरु अगाडी बढाउन पाउने ब्यवस्था हो । एकलवादमा धेरै दलहरु अटाउन सक्छन् तर धेरै विचार र वादको अस्तित्व हुदैन । त्यसैले लोकतन्त्रवादीहरु यसलाई लोकतन्त्रकै गहनाको रुपमा मान्छन् । बहुलवादलाई लोकतन्त्रको सौन्दर्यता मान्नेहरु र नमान्नेहरुबिचको विवादले गर्दा नै यतिबेला संविधान लेखन विवाद छ र त्यो विवाद संविधान बनिहाल्यो भनेपनि नटुङ्गिने अवस्था छ । तसर्थ , बहुलवादको विषयमा साझा सहमति कायम गर्नु अथवा बुहुलवादको सर्वमान्य र भरपर्दो विकल्प खोज्नु दलहरुको मुख्य प्राथमिकता हुनुपर्ने देखिन्छ । यद्यपी आ–आफ्ना राजनीतिक सिद्धान्त र वाद बोकेर अगाडी बढीरहेका दलहरुलाई बहुलवादसम्बन्धी विवाद सुल्झाउनु फलामको च्यूरा सावित हुने देखिन्छ ।

गिरिजाप्रसाद कोइरालाको जीवनी


      समयले एक पटक सबैलाई इतिहास निर्माण गर्ने अवसर दिन्छ  । थोरै मान्छेमा मात्र त्यो समयको पहिचान गर्ने क्षमता हुन्छ । जसले समयको अवसरलाइ आफ्नो इतिहास लेखाउन सदुपयोग गर्दै आफुलाई अजर र अमर बनाउन सफल हुन्छन् । आफ्नो जीवनमा यस्तै सफलता प्राप्त गर्न सफल भए , गिरिजाप्रसाद कोइराला ।
२०४६ सालको राजनीतिक परिर्वतनसंगै नेपाली राजनीतिमा सधै चर्चामा रहेका प्रजातान्त्रिक धारका नेता कोइराला  यस्तै समयको पहिचान गर्नसक्ने राजनीतिज्ञका रुपमा उदाए । विवादास्पद अभिब्यक्तिका कारण सधै चर्चामा आइरहने कोइराला समयको पहिचान गर्दै नेपालको इतिहासमा आफुलाई स्वर्ण अक्षरमा कैद गर्न मात्र सफल भएनन्, नेपाल र नेपालीलाई स्वतन्त्र र लोकतान्त्रिक राष्ट्रको रुपमा अगाडि बढाउन सफल पनि भए ।
बाम राजनीतिका कटु आलोचकका रुपमा हेरिएका यी नै नेता कोइराला अन्तिममा नेपालमा रहेका सबै बाम पार्टीका साझा नेता बन्न सफल भए । कसलेृ सोचेको थियो र २०४८ ताका ‘माले मण्डले र मसाले एकै हुन्’ भन्नेजस्ता तिखो र विवादास्पद अभिब्यक्ति दिएर बाम राजनीज्ञहरुलाई चिढ्याएका यीनै नेता १५ वर्षको दौरानमा नै बाम पार्टीका समेत सर्वमान्य नेता बन्छन् भनेर ।
जनताको अधिकार खोसेर नारायणहिटी दरवारमा कैद गर्ने राजा ज्ञानेन्द्रको दुस्साहस अनी साम्यवादी राज्य निर्माणका लागि बन्दुक बोकेर जङ्गल गएका तत्कालीन नेकपा माओवादीले पनि यी नेतालाइ समय चिन्ने अवसर दियो । समय र परिस्थिति अनि आफ्नो अडिग अडानका कारण उनी समकालीन राजनीतिमा सर्वमान्य र उदाहरणीय राजनेताका रुपमा आफ्नो छवि निर्माणमा सफल भए । तत्कालीन प्रधानमन्त्री तथा आफ्नै पार्टीका नेता शेरबहादुर देउवाले संसद बिघटन गरेलगत्तै संसदको पुर्नस्थापनाको अडान तथा माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने अभियान एक साथ पुरा भएपछि कोइराला वास्तविक रुपमा नै सफल राजनेताका रुपमा स्थापित भएका हुन् ।
त्यसो त राजनीतिक टिप्पणीकारहरु तत्कालीन जनमोर्चाका नेताहरुलाई माओवादीमा रुपान्तरण गराउनमा पनि यिनकै महत्वपुर्ण हात रहेको आक्षेप लगाउँछन् नै । तर, त्यो आक्षेपलाई कोइरालाले आफ्नै नेतृत्वमा शान्ति प्रक्रियामा ल्याएर मेटाउन सफल भए । २०६२÷०६३ को जनआन्दोलनको सफल नेतृत्व सहित विद्रोही माओवादीलाई शान्तिपुर्ण राजनीतिमा ल्याएपछि कोइराला माओवादी समेतका सर्वस्वीकार्य नेताका रुपमा स्थापित भए ।
जनआन्दोलनको सफलतासंगै वार्ताको माध्यमवाट शक्तिशाली विद्रोही माओवादीलाई विचारको राजनीतिक धरातलमा सफलता पुर्वक ओरालेर कोइराला विश्वकै ध्यानाकर्षण गर्न सफल भएका छन् । विगतमा कोइराला भनेपछि देख्न र सुन्न समेत नसक्ने अनी उनको अवगुण गाएर नथाक्ने बामपन्थी नेताहरु पनि खुल्ला सभामा नै उनको प्रशंसा गर्न खुसि मान्छन् ।
मजदुर नेताका रुपमा नेपालको राजनीतिक जीवन  शुरु गरेका कोइराला ६० वर्षिय राजनीतिक यात्रामा नपत्याउँदो पाराले विश्वका राजेताहरुको सुचिमा सुचिकृत हुन पुगेका छन् । राणा बिरोधी आन्दोलन होस् वा राजा बिरोधी , सबै आन्दोलनमा गिरिजाप्रसादको उत्तिकै नेतृत्वदायी भुमिका रहेका छन् ।
२०४६ सालको जनआन्दोलनसंगै शक्तिशाली नेताका रुपमा एकाएक उदाएका कोइरालाको २०५९ असोज १८ अगाडिसम्मको राजनीतिक यात्रा हेर्ने हो त्यत्ति सुखद र सकारात्मक देखिँदैन । अभिब्यक्तिका कारण होस् या व्यबहारका कारण उनी सधै राजनीतिकबृतमा चर्चामा रहेका हुन्थे । प्रजातन्त्रको पुर्नस्थापनासंगैको २०४८ सालमा सम्पन्न निर्वाचनताका अन्तरिम सरकारका प्रधानमन्त्री तथा आफ्नै पार्टीका सभापति कृष्णप्रसाद भट्टराईको हारमा उनले खेलेको भुमिका होस् या बहुमतको सरकार भएता पनि तीन वर्षको अवधिमा नै मध्यावधिको घोषणा गरेर होस् उनी सधै चर्चा र विवादमा नै रहे । त्यसपछिको अबस्थामा पनि उनीमा सत्ता मोह देखिइरह्यो ।