Tuesday, August 17, 2010

गिरिजाप्रसाद कोइरालाको जीवनी


      समयले एक पटक सबैलाई इतिहास निर्माण गर्ने अवसर दिन्छ  । थोरै मान्छेमा मात्र त्यो समयको पहिचान गर्ने क्षमता हुन्छ । जसले समयको अवसरलाइ आफ्नो इतिहास लेखाउन सदुपयोग गर्दै आफुलाई अजर र अमर बनाउन सफल हुन्छन् । आफ्नो जीवनमा यस्तै सफलता प्राप्त गर्न सफल भए , गिरिजाप्रसाद कोइराला ।
२०४६ सालको राजनीतिक परिर्वतनसंगै नेपाली राजनीतिमा सधै चर्चामा रहेका प्रजातान्त्रिक धारका नेता कोइराला  यस्तै समयको पहिचान गर्नसक्ने राजनीतिज्ञका रुपमा उदाए । विवादास्पद अभिब्यक्तिका कारण सधै चर्चामा आइरहने कोइराला समयको पहिचान गर्दै नेपालको इतिहासमा आफुलाई स्वर्ण अक्षरमा कैद गर्न मात्र सफल भएनन्, नेपाल र नेपालीलाई स्वतन्त्र र लोकतान्त्रिक राष्ट्रको रुपमा अगाडि बढाउन सफल पनि भए ।
बाम राजनीतिका कटु आलोचकका रुपमा हेरिएका यी नै नेता कोइराला अन्तिममा नेपालमा रहेका सबै बाम पार्टीका साझा नेता बन्न सफल भए । कसलेृ सोचेको थियो र २०४८ ताका ‘माले मण्डले र मसाले एकै हुन्’ भन्नेजस्ता तिखो र विवादास्पद अभिब्यक्ति दिएर बाम राजनीज्ञहरुलाई चिढ्याएका यीनै नेता १५ वर्षको दौरानमा नै बाम पार्टीका समेत सर्वमान्य नेता बन्छन् भनेर ।
जनताको अधिकार खोसेर नारायणहिटी दरवारमा कैद गर्ने राजा ज्ञानेन्द्रको दुस्साहस अनी साम्यवादी राज्य निर्माणका लागि बन्दुक बोकेर जङ्गल गएका तत्कालीन नेकपा माओवादीले पनि यी नेतालाइ समय चिन्ने अवसर दियो । समय र परिस्थिति अनि आफ्नो अडिग अडानका कारण उनी समकालीन राजनीतिमा सर्वमान्य र उदाहरणीय राजनेताका रुपमा आफ्नो छवि निर्माणमा सफल भए । तत्कालीन प्रधानमन्त्री तथा आफ्नै पार्टीका नेता शेरबहादुर देउवाले संसद बिघटन गरेलगत्तै संसदको पुर्नस्थापनाको अडान तथा माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने अभियान एक साथ पुरा भएपछि कोइराला वास्तविक रुपमा नै सफल राजनेताका रुपमा स्थापित भएका हुन् ।
त्यसो त राजनीतिक टिप्पणीकारहरु तत्कालीन जनमोर्चाका नेताहरुलाई माओवादीमा रुपान्तरण गराउनमा पनि यिनकै महत्वपुर्ण हात रहेको आक्षेप लगाउँछन् नै । तर, त्यो आक्षेपलाई कोइरालाले आफ्नै नेतृत्वमा शान्ति प्रक्रियामा ल्याएर मेटाउन सफल भए । २०६२÷०६३ को जनआन्दोलनको सफल नेतृत्व सहित विद्रोही माओवादीलाई शान्तिपुर्ण राजनीतिमा ल्याएपछि कोइराला माओवादी समेतका सर्वस्वीकार्य नेताका रुपमा स्थापित भए ।
जनआन्दोलनको सफलतासंगै वार्ताको माध्यमवाट शक्तिशाली विद्रोही माओवादीलाई विचारको राजनीतिक धरातलमा सफलता पुर्वक ओरालेर कोइराला विश्वकै ध्यानाकर्षण गर्न सफल भएका छन् । विगतमा कोइराला भनेपछि देख्न र सुन्न समेत नसक्ने अनी उनको अवगुण गाएर नथाक्ने बामपन्थी नेताहरु पनि खुल्ला सभामा नै उनको प्रशंसा गर्न खुसि मान्छन् ।
मजदुर नेताका रुपमा नेपालको राजनीतिक जीवन  शुरु गरेका कोइराला ६० वर्षिय राजनीतिक यात्रामा नपत्याउँदो पाराले विश्वका राजेताहरुको सुचिमा सुचिकृत हुन पुगेका छन् । राणा बिरोधी आन्दोलन होस् वा राजा बिरोधी , सबै आन्दोलनमा गिरिजाप्रसादको उत्तिकै नेतृत्वदायी भुमिका रहेका छन् ।
२०४६ सालको जनआन्दोलनसंगै शक्तिशाली नेताका रुपमा एकाएक उदाएका कोइरालाको २०५९ असोज १८ अगाडिसम्मको राजनीतिक यात्रा हेर्ने हो त्यत्ति सुखद र सकारात्मक देखिँदैन । अभिब्यक्तिका कारण होस् या व्यबहारका कारण उनी सधै राजनीतिकबृतमा चर्चामा रहेका हुन्थे । प्रजातन्त्रको पुर्नस्थापनासंगैको २०४८ सालमा सम्पन्न निर्वाचनताका अन्तरिम सरकारका प्रधानमन्त्री तथा आफ्नै पार्टीका सभापति कृष्णप्रसाद भट्टराईको हारमा उनले खेलेको भुमिका होस् या बहुमतको सरकार भएता पनि तीन वर्षको अवधिमा नै मध्यावधिको घोषणा गरेर होस् उनी सधै चर्चा र विवादमा नै रहे । त्यसपछिको अबस्थामा पनि उनीमा सत्ता मोह देखिइरह्यो ।
कोइरालाको राजनीतिक यात्रा
 

सन् १९२५ मा कृष्णप्रसाद कोइरालाको कान्छो छोराको रुपमा जन्मिएका गिरिजाप्रसाद कोइरालाले मजदुर आन्दोलनवाट आफ्नो राजनीतिक यात्रा शुरु गरेका हुन् । पिता कृष्णप्रसाद कोइरालाको राजनीतिक यात्रालाई समेत नियालेका उनले भारतीय स्वतन्त्रता संग्राममा समेत सहभागी भए । सन् १९४८ मा बिराटनगरमा नै मजदुर संगठन स्थापना गरी राजनीतिमा हाम फलेका थिए ।
२००७ सालको राजनीतिक परिर्वतन पछि उनी कांग्रेस मोरङ्गको जिल्ला सभापति थिए । मोरङ्ग सभापतिकालमै राजा महेन्द्रले प्रजातन्त्रमाथि धावा बोलेर राजनीतिक नेताहरुलाइ पक्राउ गर्ने क्रममा उनी पनि पक्राउ परेका थिए । राजनीतिक जीवनमा कोइरालाले करिव सात वर्ष जेल जीवन विताएका छन् । नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाका भाई उनलाई एकातिर परिवारको हेरचाहको जिम्मेवारी थियो भने अर्कातिर राजनीतिक यात्रालाई समेत अगाडि बढाउनु चुनौति थियो । जानकारहरुका अनुसार ,आफ्नो पहिरन नै परिवर्तन गरी बिपीलाई भेटी कार्यकर्ता सम्म पुग्ने गुण कोइरालामा थियो ।
आफ्ना दाजु विपि कोइरनालासंगै भारत प्रवासमा रहेर नेपालमा संगठन बिस्तार तथा प्रजातान्त्रिक आन्दोलन सञ्चालन गर्न सक्रिय उनी विपिसँगै राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल फर्किएका थिए । २०४२ सालको अहिंशात्मक आन्दोलन सत्याग्रहमा उनले नेतृत्वदायी भुमिका निर्वाह गरेको देखिन्छ । २०४६ सालको जनआन्दोलनमा कोइरालाले महत्वपुर्ण भुमिका निर्वाह गरेका थिए । तत्कालीन अबस्थामा नेपाली कांग्रेसको महामन्त्री रहेका कोइरालाले गणेशमान सिंहको नेतृत्वमा आन्दोलनलाई अगाडि बढाउने र राजासँग वार्ता गर्ने दुवै कार्यमा उत्तिकै जिम्मेवारीका साथ काम गरिरहेका थिए ।
२०४६ सालको राजनीतिक परिर्वतनपछि २०४८ सालमा सम्पन्न पहिलो आम निर्वाचनमा उनी मोरङ्ग श्रेत्र नम्बर १ वाट प्रतिनिधि सभाको सदस्यमा निर्वाचित भए । उनी त्यस बेला पार्टीको महामन्त्री थिए भने सभापति थिए सन्त नेता कृष्णप्रसाद भट्टराई ।
२०४८ को निर्वाचनमा कांग्रेसले स्पष्ट बहुमत ल्याएको थियो । स्पष्ट बहुमत सहितको पार्टीको उनी संसदिय दलको नेतामा चुनिए । २०४८ को निर्वाचनमा अन्तरिम सरकारको प्रधानमन्त्री रहेका भट्टराई अस्वाभाविक रुपमा पराजीत हुन पुगे । यसमा कोइरालाको भुमिका रहेको चर्चा भएपनि हालसम्म त्यसको स्पष्ट प्रमाण कहि कतै भेट्टिएको छैन ।
पार्टी सभापति भट्टराई प्रतिनिधि सभाको सदस्य हुन असफल भएपछि उनी बहुमत सहतिको कांग्रेसको संसदिय दलको नेतामा चुनिंदै पहिलोपटक प्रधानमन्त्री बन्न सफल भएका थिए । तर, उनको यात्रा सुखद हुन सकेन । बाम नेताहरुको निरन्तर आक्रमण अनि पार्टी भित्रकै खिचातानीका कारण कोइरालाको पहिलो प्रधानमन्त्रीकाल असफलतातिर मोडियो । पार्टीभित्रका असन्तुष्ट नेताहरुले उनलाई सदनमा नै असहयोग गर्न थाले । पार्टी सभापति कृष्णप्रसाद भट्टराई र सर्वमान्य नेता गणेशमानसंग पनि उनको कटुता बढ्दै गयो । जसको फलस्वरुप पाँच वर्षका लागि जनताले महुमतका साथ नेपाली कांग्रेसलाइृ सत्तासुम्पिए पनि तीन वर्षमै उनी मध्यावधि निर्वाचनमा जान बाध्य भए ।
२०५१ मा भएको मध्यावधिमा उनी मोरङ्ग क्षेत्र नम्बर एकका साथै सुनसरी पाँच वाट समेत प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए ।  सन्त नेता भट्टराई पुन निर्वाचन जित्न असफल भएपछि उनी पुन संसदिय दलको नेतामा चुनिए । संसदिय दलको नेताका साथ उनी पुनः दोस्रो पटक प्रधानमन्त्री भए ।
पार्टीको महामन्त्रीको रुपमा क्रियशिल कोइराला २०५२ सालमा सम्पन्न  पार्टीको नवौं महाधिबेसनमा सभापति बने । २०५७ मा सम्पन्न पोखरा महाधिबेसन र २०६२ मा सम्पन्न ललितपुर महाधिबेसनबाट समेत उनी सभापतिमा निर्वाचित भए । २०४८ सालमा पहिलो पटक प्रधानमन्त्री बनेका उनी प्रजातान्त्रिक कालमा नै पटक पटक गरी चार पटक प्रधानमन्त्री बने भने २०६२÷०६३ सालको जनआन्दोलन पछि उनी पुनः दुई पटक गरी जीवनमा ६ पटक प्रधानमन्त्री बन्ने अबसर प्राप्त गरे ।।
कोइरालाको विवादास्पद छवि

समकालीन राजनीतिका शिर्ष पुरुष गिरिजाप्रसाद कोइरालाको राजनीतिक यात्राक्रमको अध्ययन गर्ने हो भने उनी जन्मजात नै विवाद लिएरै जन्मिएका झै देखिन्छन् । सत्तामा छँदा होस् या सत्ताबाहीर कोइराला सधै विवाद र चर्चामा बाधिए ।
२०४६ सालको जनआन्दोलनको सफलतासंगै खुल्लामञ्चवाट उनले विवादको विउ रोपेका हुन् । त्यहीबाट सुरु भएको उनको विवादास्पद राजनीतिक यात्रा सधै कायम रहे । शक्ति र सत्ताका लागि उनले गरेका विवादास्पद राजनीतिक दाउपेचले उनलाई पार्टीभित्रै बेला बेलामा अलोकप्रिय समेत बनाए । जसका कारण सर्वमान्य नेताका रुपमा नेपाली राजनीतिमा चिनिएका गणेशमान सिंह र उनका पक्षधरका साथ अर्का नेता कृष्णप्रसाद भट्टराई समेत उनीसित रुष्ट बन्दै गए । अन्तमा गणेशमान सिंहले त पार्टी परित्यागको घोषणा समेत गर्न पुगे  । २०४८ सालमा गठित मन्त्रीमण्डलप्रति असन्तुष्ट रहेका सिंहले कोइरालाले एक साथ ६ जना मन्त्रीलाई बर्खास्त गरिदिएपछि दुरी बढ्दै गएको थियो ।
महामन्त्रीका रुपमा पार्टीका क्रियशिल कोइरालाले प्रधानमन्त्री बन्नकै लागि आफ्नै पार्टीका तत्कालीन सभापति भट्टराईलाई हराएको आरोप लागेको थियो उनलाई । विवादैविवादका विचमा पार्टी सभापति बन्न सफल भएका कोइरालाको कार्यकालमा नै सुरु भएको पटक पटकको पार्टी विभाजनको प्रयास कोइरालाले थेग्न सकेनन् । आफ्नै पार्टीका प्रधानमन्त्री शेरबहादुर देउवा सहितका केही नेताहरुलाई साधारण सदस्यसमेतबाट हटाएपछि अन्ततः पार्टी बिभाजन हुन पुग्यो , जसको दोष कोइरालामा नै जाने देखिन्छ ।
तत्कालीन माओवादीसँग बाह्रबँुदे समझदारी गर्ने कोइरालाको निर्णय पनि पार्टी भित्र बिवादको बिषय बन्यो । सरकार र माओवादीबीच सम्पन्न प्रतिबद्धता माओवादीले पालना गर्न अस्वीकार गरेको भन्दै कांग्रेसकै केही नेताहरुले कोइरालाको आलोचना गरे । पार्टी कमजोर भएका बेला संविधान सभा निर्वाचन गराएर पार्टीले पराजय भोग्नु परेको तथा गणतन्त्र नेपालको पहिलो राष्ट्रपति बन्ने आशामा  निर्वाचनको प्रचारमा संलग्न नभएकोमा उनको आलोचना भइरह्यो ।
पार्टीमा परिवारवाद भित्र्याएको आरोप उनलाई लाग्दै आएयो । जुन जीवनको अन्तिम घडि सम्म पनि कायमै रह्यो । आफ्नी पुत्री सुजाता कोइरालालाई राजनीतिमा हावी गराउनु , एमाले नेता माधबकुमार नेपाल नेतृत्वको सरकारमा कांग्रेसका तर्फबाट सुजाताको नेतृत्वमा सहभागी गराउनु अनि सुजातालाई उपप्रधानमन्त्री बनाउन दवाव दिनु पछिल्ला बिवादका बिषय हुन् । प्रधानमन्त्रीकालमा भएको चेज एयर काण्ड र लाउडा प्रकरणमा भएको भ्रष्टाचारमा समेत कोइराला तानिए । त्यतिमात्रै होइन, आफ्नै प्रधानमन्त्रीकालमा भएको दरवार हत्याकाण्डको पर्दाफास गर्न नसकेको आरोप समेत उनलाइ लाग्दै आएको नै छ ।
तर उनको सकारात्मक पक्ष आफैंले भने झै‘ पछाडि फर्केर नहेर्ने’ स्वभावले उनलाई अन्तत सफल राजनीतिज्ञको कोटिमा भने उभ्याइ छाड्यो ।


कोइरालाको राजनीतिक सफलताको यात्रा


दरवार हत्याकाण्डसंगै एकाएक नेपालको राजगद्धिमा बस्न आइपुगेका राजा ज्ञानेन्द्रको सत्ता मोह कोइरालाका लागी राजनीतिक यात्रामा लागेका कालो दाग पखाल्ने अवसरका रुपमा आएको देखिन्छ । बामपन्थि राजनीतिक दलका सधै आलोचक कोइरालाको राजनीतिमा सुदिन र नेपाली राजसंस्थाको कु दिन संगसगै शुरु भएको देखिन्छ ।
पार्टीको आन्तरिक झगडाको रिसका कारण संसद विघटन गर्न पुगेका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको निर्वाचन सार्ने निवेदनको आडमा असोज १८, २०५९ मा राजाले गरेको गम्भिर गल्ति नै कोइरालाको लागि लक्ष्मण बुटीको रुपमा उदायो ।
असोज १८ देखी २०५९ माघ १९ सम्मका दिनमा कोइरालाको निडर राजनीतिक अडानका कारण उनको छविमा लागेका धुलोहरु विस्तारै हट्दै गयो । दोश्रो जनआन्दोलनको सफल नेतृत्वसंगै बैशाख ११, २०६३ मा एकाएक कोइराला नेपालका सर्वमान्य नेताका रुपमा उदाए ।
असोज १८ पछिका राजनीतिक घटनाक्रममा अविचलित रुपमा उनले विघटित प्रतिनिधि सभाको पुर्नस्थापनाको माग लिएर सडकमा उत्रिएका थिए । त्यसबेलामा उनीसंग ६ दल आन्दोलनमा होमिएका भएपनि राजनीतिक एजेण्डामा भने एकरुपता थिएन । तत्कालीन राजाले असोज १८ को कदम सच्याउनुपर्ने, प्रतिनिधि सभाको पुर्नस्थापना गर्नुपर्ने, राजनीतिक दललाई नै सत्ता सुम्पनुपर्ने माग सडकमा लागेको भएपनि राजनीतिक दलका विच समान धारणाको अभाव थियो नै । आन्दोलनका सहयात्री नेकपा एमाले, जनमोर्चा, नेसपा आनन्दीदेवी संगै आन्दोलनमा भएपनि उनीहरुविच समान राजनीतिक एजेण्डाको अभाव देखिएको थियो । उता, कांग्रेसवाट विभाजित प्रजातान्त्रिक कांग्रेसले छुट्टै रुपमा आन्दोलन सञ्चालन गरिरहेको थियो ।
विचमा राजाले आन्दोलनको मैदानवाट प्रजातान्त्रिक कांग्रेस र एमालेलाइ सत्ताधारी बनाए । तर, त्यस समयमा  पनि कोइराला भने अविचलित रुपमा पाँच दललाई साथ लिएर आफ्नो राजनीतिक एजेण्डाका साथ आन्दोलनमै डटिरहे । माघ १९, २०६१ को राजाको मुर्खतापुर्ण कार्यले प्रजातन्त्र पक्षधर शक्तिविच एकताको वातावरण निर्माण गरिदियो । जसका कारण सबै प्रजातान्त्रिक शक्तिहरु सात राजनीतिक दलका रुपमा समान राजनीतिक ऐजेण्डा लिएर आन्दोलनमा होमिए ।
जव सात राजनीतिक दलले नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालालाई सात दलको साझा नेताको रुपमा चयन गरे ,  उनको काँधमा धेरै चुनौतिहरु पनि थपिए ।
सात दलभित्र राष्ट्रिय अन्तराष्ट्रिय दुबै रुपमा उनको जत्तिको राजनीतिक उचाइ प्राप्त गरेको अन्य नेताको अभावमा नै सबैले सहज रुपमा उनको नेतृत्वलाई स्विकार गरेका थिए । उनको यही पक्ष नै इतिहासको पानामा सुनौलो अक्षरले आफ्नो नाम अंकित गर्ने सुअवसरका रुपमा स्थापित भयो ।
विंस २०४६ को राजनीतिक परिर्वतनसंगै सबैभन्दा बढि विवादमा तानिएका र सबैभन्दा लामो समय सत्तामा बसेका नेताको रुपमा परिचय बनाइसकेका नेता हुन् , कोइराला । माले मण्डले र मासाले एउटै हुन् भन्नेजस्ता विवादास्पद अभिब्यक्तिका कारण बामपन्थि पार्टीमाझ उनको सकारात्मक प्रभाव थिएन । तर इतिहासले तीनै ब्यक्तिको हातमा मुलुकमा रहेका सबै बामपन्थिलाई संगै लिएर हिड्ने चुनौतिपुर्ण अभिभारा सुम्पियो ।
सुझबुझपुर्ण कार्य, माओवादीसंगको कार्यगत एकता गर्ने कोइरालाको साहसिक निर्णय र जनविश्वासका कारण जनआन्दोलन सफल भयो, राजा ज्ञानेन्द्रले घुँडा टेके अनी सात दलका नेतृत्व गर्दै आएका कोइरालाको छवि जनतामाझ एकाएक लोकप्रिय बन्यो ।
बैशाख ११ को राजनीतिक कायांपलटसंगै पुन प्रधानमन्त्रीको कुर्सिमा पुगेका कोइरालामाथि सबैले आशकायुक्त नजरले हेरीरहेकै थिए । जनताले त्यागेका राजालाइ पुन जोगाउने त हैनन् भन्ने आशंका जनतामा मात्र हैन जनआन्दोलनताका उनका सहयात्रीदलका साथै माओवादीमा समेत कायमै थियो । प्रतिनिधि सभा घोषणा पत्रले उनको राजनीतिक उचाइ झन बढायो । साम्यवादी गणराज्य स्थापनाको लक्ष्य लिएर जङ्गल छिरेको माअ‍ोवादीलाई वार्ताको माध्ययमवाट हतियार विसाउन र बहुदलिय प्रजातान्त्रिक प्रणाली स्वीकार गराई सदन र सरकारमा सहभागि गराउने निर्णय गर्न कोइराला सफल भए तव एकाएक कोइरालाको राजनीतिक उचाइ ह्वात्तै बढ्यो । पार्टी बिभाजनको कारक बनेका कोइरालाले यसै बीचमा फुटेको कांग्रेसबीच एकीकरण गरेर बिभाजनको पीडा हटाउन पनि सफल भए ।
माओवादीलाई शान्तिपुर्ण राजनीतिमा रुपान्तरण गर्नु , अन्य दलहरुबीच सहमति कायम गर्नु र संविधान सभाको निर्वाचन गर्नु कोइरालाले जीवनका अन्तिम केही बर्षमा गरेका महत्वपुर्ण नेतृत्वदायी भुमिका हुन् । नेपालको इतिहासमा नै पहिलो पटक संविधान सभाको निर्वाचन गराउनु र आफ्नो संविधान आफैं बनाउने अधिकार जनताले पाउनु महत्वपुर्ण उपलब्धी त छदै थियो , उनकै नेतृत्वमा नेपालमा गणतन्त्र स्थापना हुनुले आधुनिक नेपालका नेताका रुपमा समेत उनी स्थापित भएका छन् ।
साच्चिकै यी  सफलतासंगै कोइरालालाई एसियाका नेल्शन मण्डेलाका रुपमा हेरिएको छ । जंगलबाट शान्तिपुर्ण राजनीतिमा आएको माओवादी होस् वा गद्धिबाट बाहिरिएको राजसंस्था होस् , सबैले कोइरालाको नेतृत्वमात्रै होइन निर्णय स्वीकार गर्न तयार भए । त्यसैको परिणाम हो , रक्तपातविहिन गणतन्त्रको स्थापना । जुन, राजनीतिक रुप्मा चानचुने सफलता हैन ।

No comments:

Post a Comment