Wednesday, September 29, 2010

देखिएका गगन र नदेखिएका गगनहरु

                गगन थापा,सहरमा जसको चर्चा छ । नेपाली काँग्रेसको १२ औं महाधिवेशनबाट लोकप्रिय मत प्राप्त गरेर बिजयी केन्द्रिय सदस्य । महाधिवेशनले ६१ जनालाई केन्द्रिय सदस्य बनाएको छ तर सबैभन्दा बढी चर्चाका पात्र गगन बनेका छन् । विद्यार्थी नेतादेखि युवा नेता हुदै उनी काँग्रेसको केन्द्रिय सदस्यसमेत बनेका छन् यतिबेला । यो उनको ठूलो राजनितीक फड्को हो । त्यसको उचाई कायम राख्न उनकासामु ठूलो चुनौती पनि रहेको छ ।

          छोटो समयमै राजनितीको लामो दूरी तय गर्न गगन सफल भएका छन् । लोकतान्त्रिक आन्दोलनका समयमा उनको भाषणले मात्रै पनि आन्दोलनकारीहरुलाई शक्ति प्रदान गरेको हुन्थ्यो । त्यसैले पनि उनी लोकप्रिय हुदै गए । नेपाली काँग्रेसले संवैधानिक राजतन्त्रको गुणगान गाईरहदा उनी गणतन्त्रको नारा घन्काईरहेका हुन्थे । त्यसैले पनि तत्कालीन निरकुंश राजतन्त्रको विरोध गर्नेहरु उनका समर्थक बने । गगन थापा आफ्नै पार्टीभित्रका आलोचित पात्र पनि हुन् । काँग्रेसी चियागफहरुमा गगनका कमजोरीहरुको चर्को आलोचना भईरहन्छ,सायद त्यसभित्र प्रतिशोधको भावना पनि लुकेको होला । तर गगनसंग कुनै प्रतिशोध राख्न नपर्ने माओवादी उपाध्यक्ष डा.बाबुराम भट्टराईकै भनाईमा पनि गगन भविष्यमा केही गर्नसक्ने आशावादी नेता हुन् । भट्टराई गगनको राजनितीक भविष्यका बारेमा त्यत्तिधेरै विश्वस्त देखिन्छन् कि त्यत्ति विश्वास त उनलाई गगनको पार्टीको भविष्यका बारेमा पनि लाग्दैन । यस्ता अनेकन  सत्यहरु छन् जसले गगनको राजनितीक साखलाई दिनदिनै बढाउदै लग्यो । तर यी सबैकुरा गगनको नाम सुन्ने सबैलाई थाहा छ । थाहा नभएका र विचार नपुगेका धेरै कुराहरु छन् जसले गगन थापालाई आजको स्थितिमा पु¥याउन मद्दत ग¥यो । 

              गगन थापा काँग्रेसको केन्द्रिय राजनितीमा पुग्नु काँग्रेस र काँग्रेसीहरुको लागि कुनै ठूलो उपलब्धी होईन । यो नितान्त्त गगनको उपलब्धी हो र उनले उपलब्धीको सही रक्षा गर्न सकेमात्रै काँग्रेस र काँग्रेसजनले केही उपलब्धी पाएको महसुस गर्ने छन् । त्यसका लागि केही समय कुर्नैपर्ने हुन्छ । गगन थापाकै समकक्षी अन्य युवाहरुले पनि अहिलेको केन्द्रिय समितिमा स्थान पाएका छन् । तर सहरमा तिनको चर्चा कम छ । सायद बाजुरामा गगन केन्द्रमा आएको भन्दा पनि बद्री पाण्डे केन्द्रमा आएको कुराको बढी चर्चा भईरहेको होला । बद्री पाण्डेको प्रसंग जोड्नुको सान्दर्भिकता यहाँनेर छ कि गगन र बद्रीका बिचमा धेरै समानताहरु छन् । गगनले जत्तिको सपना उनले पनि देखेका छन् । दुवैजना युवा काँग्रेसी नै हुन् । दुवैजना नेविसंघका पूर्वमहामन्त्री पनि हुन् । अहिले दुवै काँग्रेसको केन्द्रिय सदस्य बनेका छन् । तर गगनको जति चर्चा छ,त्यति बद्रीको छैन ।

             कारण धेरै छन्,गगनका राजनितीक सफलता पछाडीका । राजधानी काठमाडौंमा उपलब्ध सबैखालको सुविधा आत्मसाथ गर्न गगनलाई अप्ठ्यारो थिएन । त्यसैले पनि उनको राजनिती सहज बन्यो । गगनले राजधानीको महँगो बोडिङ पढ्दै गर्दा बद्री पाण्डे बाजुराको कुनै गाउमा घण्टौ हिडेर स्कुल पुगे होलान् । गगन पूर्व सञ्चारकर्मी पनि हुन् । राजधानीका मुख्यमुख्य सञ्चारगृहमा उनको पहँुच सधै हाबी भयो । बद्री पाण्डेको नामैमात्रै पनि धेरै काँग्रेसीले चुनावको परिणाम पछि  सुनेका होलान् । कारण उनी मिडियाको नजरमा परेनन् । लोकतान्त्रिक आन्दोलनताका गगन नेविसंघका महामन्त्री थिए । त्यसैले पनि आन्दोलनका सभाहरुमा उनले स्थान पाए । सायद नेविसंघका पूर्व अध्यक्ष विश्वप्रकाश शर्माले समयमै अधिवेशन नगरेर अहिलेको नेविसंघजस्तै गरी अगाडी बढेको भए आन्दोलनताका गगन नेविसंघको महामन्त्री पनि हुन्थेनन्,सायद आन्दोलनका सभामा वक्ता बन्नुपनि उनका लागि कठिन हुन्थ्यो होला । समग्रमा गगन काँग्रेसी राजनितीभित्रका एक भाग्यमानी पात्र हुन् । उनमा युवा जोश छ,अध्ययनशीलता छ,तर्क छ र लोकप्रियता पनि छ । त्यसका बाबजुद पनि राजधानीको सुविधा र सहजता गगनको राजनितीक उचाईको अर्को सहयोगी पाटो हो ।

               गगन थापा नेपाली काँग्रेसभित्रका अपवाद होईनन्,उनीजस्ता धेरैछन् । काँग्रेसको राजनितीमा केही गरौं भनेर लागेका निष्ठावान्,तर्कशील,लगनशील र ईमान्दार युवाहरुको कमी छैन । तर पनि सबैजना गगन बन्न सकिरहेका छैनन् । सबैसंग राजधानी छैन,सञ्चारमाध्यमसंगको सामीप्यता छैन र त उनीहरु पछाडी छन् । यो यथार्थ गगनलाई समेत अवगत हुनुपर्छ । किनकी सहर केन्द्रित राजनिती गरेको आरोप उनलाई लाग्ने गरेको छ । यो आरोपलाई अब गगनको भूमिकाले मात्रै निरर्थक सावित गर्न सक्छ । सायद यो आरोपलाई पन्छाउनुपनि गगनको अबको जिम्मेवारी हो ।

गगन सुविधामा हुर्किए,केन्द्रिमा छाए र नेता भए,यो वास्तविकता हो । तर त्यो भन्दा निकै टाढा गगन थापाको अर्को विशेषता छ । त्यो कुनै नेताविशेषको पछि नलाग्ने । गगनजत्तिकै लाग्ने अन्य युवा काँग्रेसीहरु ठूला नेताको फेरी समातेर राजनिती गर्न खोज्छन्,त्यो दुष्कामबाट टाढा गगन धेरै पर देखिन्छन्,आजका मितीसम्म । यदी अन्य युवा नेताहरुले ठूला नेताको आशीर्वादको पछाडी लाग्न छोडेभने काँग्रेसमा युवाहरुको उपस्थिति संख्यात्मक रुपमा मात्रै नभई गुणात्मक रुपमै सबल हुनेछ ।

             अन्त्यमा,गगन केन्द्रमा पुग्नु मात्रै काँग्रेसीहरुको लागि सफलता होईन । गगनजस्ता अन्य युवाहरुलाई पनि त्यो स्थानमा पु¥याउनुमा काँग्रेसीहरुको सफलता झल्किने छ । सबैतिर चर्चित,लोकप्रिय र देखिएका गगन बल्ल केन्द्रमा पुगेका छन्,अब नदेखिएका दुरदराजका अन्य गगनहरुलाई पनि त्यो स्थानसम्म पुर्याउने हो भने काँग्रेस साच्चैको नया बन्नेछ । काँग्रेसभित्र नदेखिएका गगनहरु पनि छन्,जसको खोजी अब छिट्टै काँग्रेसजनले गर्नुपर्छ । देखिएका गगनलाई बधाई छ , नदेखिएका गगनहरु पनि छिट्टै देखिने हैसियतमा पुगुन् । शुभकामना ।

             २०६७ साल असोज १४ को नागरिक दैनिकमा प्रकाशित

No comments:

Post a Comment