Tuesday, August 17, 2010

बिकास कोईरालालाई खुलापत्र

बिकास दाई
जय नेपाल

फेसबुकको दाईको एकाउन्टमा रहेको आफ्नै पार्टी कार्यालयको ढोकामा निकै आक्रोशका साथ ताडफोड गर्दैगरेको दाईको फोटो हेर्दै यो पत्र लेखिरहेको छ । सर्वप्रथम चितवन जिल्लाको सभापतिमा बिजयी हुनुभएकोमा बधाई छ । यो बधाईसंगै अनेक अपेक्षाहरु पनि जोडिएर आएका छन् । यतिबेला तपाई चितवनको सभापति मात्रै हुनुन्न,सिंगो नेपाली कांग्रेसलाई युवा बनाउने अभियानको एउटा पक्तिंमा समेत उभिनुभएको छ । यतिबेला काँग्रेस अग्निपरिक्षामा छ । काँग्रेसीहरु अझै पनि ईतिहासको नारा लगाएर बाँचिरहेका छन्,वर्तमानमा भने उनीहरु एउटा दुखपूर्ण वर्तमानलाई आत्मसाथ गरिरहेका छन् । काँग्रेसको ईतिहासमै यसपालीको अधिवेशन सबैभन्दा बढी प्रजातान्त्रिक बनेको छ । सबैले यतिबेला स्वीकारी रहेको एउटा सत्य तपाईलाई स्मरण गराउन चाहान्छु “अब नेपाली काँग्रेस बुढाहरुको मात्रै पार्टी रहेन । काँग्रेस त अझ युवा बन्दैछ ।” यो सत्यको एउटा पाटो तपाईको जितसंग जोडिएको छ । हुन त यसलाई आफ्नो मात्रै जितको रुपमा नबुझ्नुहोला, यो चितवन काँग्रेसको पुरानो पुस्तादेखि स्कुले पुस्तासम्मको जित हो ।
दाईमाथि धेरै चुनौतीहरु आईपरेका छन्,संगसंगै अवसरहरु पनि । तपाईको कार्यसमितिमा देवेन्द्र गुरुङजस्ता अनुभवी सचिव पनि हुनुहुन्छ । जसले पुराना काँग्रेसीहरुसंग सहकार्यको लागि तपाईलाई सेतुको रुपमा सहयोग गर्नेछ । दाईले यसअघिका दिनमा नेपाली काँग्रेसको कार्यकर्ताको रुपमा पार्टीका लागि गरेका कामहरुको मुल्याङ्कन बल्ल भएको छ । उम्मेदवारी घोषणा सभामा दाईले प्रतिबद्धता गरेझै नेविसंघको चुनावमा उम्मेदवार हुदा भएका कमजोरीहरु जिल्ला अधिवेशनमा दोहोरिन पाएन । दाईमाथि आरोपका खातहरु छन् । ती आरोपहरुको जवाफ मेरो पत्रले भन्दा पनि दाईको कार्यकालले नै दिनेछ भन्ने अपेक्षा गरेको छु । यतिबेला चर्चाको विषय त विकास कोईरालालाई चितवनका काँग्रेसीहरुले विश्वास गर्नुको कारण र राखेका अपेक्षाहरु नै हुन् । पहिलो कुरा त यतिबेला नारायणगढका काँग्रेसीहरु पनि सुरक्षाको खोजी गरिरहेका छन् । माडी,कठार,कविलास,शक्तिखोर लगायतका ठाउहरुमा काँग्रेसीहरुको अवस्था के छ दाईलाई अवगत नै छ । नेविसंघको संगठनमा रहदा वा नरहदा चितवनका काँग्रेसजनहरुको धेरथोर अध्ययन गर्ने मौका मैले पाएको छु । त्यसका आधारमा आगामी कार्यकालका लागि तपाईले गर्नुपर्ने थुप्रै कामहरु मैले देखेको छ ु । त्यसको लागि ठूलै चुनौती छ तर दाईको युवा जोश र आस्थावान् काँग्रेसीहरुको साथका अगाडी त्यो ठूलो समस्या होईन ।

संविधानसभाको निर्वाचनका बेला १२ बजेपछि बुथमा बस्न नसकेर माओवादीको डरले भाग्दै गरेका काँग्रेसीहरु मैले नजिकैबाट देखेको छु । त्यसकै परिणाम थियो चितवनका बामपन्थीहरुले“चितवन जिल्ला,लाल किल्ला” भनेर नारा लगाउने अवसर पाउनु । स्ववियु चुनावको समयमा अखिलको आक्रमणबाट बच्न पार्टी कार्यालयमा समोसा खादै बसेका नेविसंघका कार्यकर्ताहरुको बारेमा मलाईभन्दा दाईलाई नै बढी थाहा छ । अर्को मुख्य कुरा काँग्रेसीहरु अझैपनि रामपूरमा विकास दाईको बलियो पकड छ भन्छन्,स्ववियु चुनाव ताका रामपूर नजिकै बस रोकेर अखिलले नेविसंघका कार्यकर्ताहरुलाई मरणासन्न हुनेगरी चुटेको सम्झदा अझै मन सिरिङ्ग हुन्छ । चितवन हस्पिटलका बेडहरुमा उपचार गराईरहेका कन्या कलेजका साथीहरु रुदै गरेको दृश्य मेरो आखामा भन्दा दाईको मनमा बढी विम्वित भईरहेको होला । यो त राम्रो भयो कि अहिलेको अधिवेशनमा दाईलाई नेविसंघको सिंगो जिल्ला पक्तिंले सहयोग गरेको । सायद रामकृष्ण दाईको पराजयको कारण पनि यस्तै यस्तै घटनाहरु हुन् । यतिबेला यी घटनाहरु दाईको लागि अवसर पनि हुन् । अबको दिनमा चितवनमा नेविसंघहरु चुटिएको खबर सुन्नपरे त्यो सबैभन्दा पीडादायी हुनेछ । यसको अर्थ नेविसंघले अरुलाई आक्रमण गरे खुसी हुनेछु भन्नेपनि होईन । यसको मतलब अब संयमित र सुरक्षित दुवै खालको नेविसंघ बन्नुपर्छ । मैयादेवीका विद्यार्थी साथीहरुले अघिल्लो स्ववियु चुनावमा भित्तामा पोष्टरसमेत टाँस्न नपाएको गुनासो गर्दैथिए । यही वर्षको अन्त्यतिर फेरी स्ववियुको चुनाव हुदैछ ,त्यतिबेला त्यस्तो सुन्न नपरोस् । अबको स्ववियु चुनावमा फेरीपनि अपवित्र गठबन्धन बन्नसक्छ अखिलहरुको तर नेविसंघले मैदान छोड्ने भन्दा पनि ईतिहास तोड्ने चेष्टा गर्नेछ र त्यसमा दाईको नेतृत्वदायी भूमिका सहयोगि बन्नेछ भन्ने अपेक्षा गरेको छु । राष्ट्रिय राजनितीमा नेपाली काँग्रेसलाई एक्ल्याएर अगाडी बढ्ने गृहकार्य गरिरहेका छन्,अन्य दलहरु । यदि त्यसो भयो भने चितवन जिल्लाको काँग्रेस र काँग्रेसीहरुलाई दाईको उपस्थितिले उत्साह प्रदान गर्नुपर्छ ।

सभापतिमा निर्वाचित भएलगत्तै दाईले गरेका प्रतिबद्धताहरुले आशावादी बनाएको छ । तर जब ती प्रतिबद्धताहरुको कार्यान्वयन हुदै जान्छ त्यतिबेला मात्रै ढुक्क हुने अवस्था बन्नेछ । नियमित राजनितीक प्रशिक्षण अत्यावश्यक हो र त्यसको कार्यान्वयन दाईको प्रतिबद्धता भन्दा द्रूत रुपमा हुनेछ भन्ने अपेक्षा तपाई र काँग्रेसका मजस्ता शुभचिन्तकहरुले लिएका छन् । काँग्रेस निकटका लगानीकर्ता खोजेर एफ.एम खोल्ने दाईको योजना राम्रो छ । तर त्योभन्दा पहिला चितवनका सबै सञ्चारमाध्यममा कार्यरत काँग्रेसका शुभेच्छुक पत्रकारहरुलाई सहयोगीको रुपमा ग्रहण गर्ने संस्कार चितवनका काँग्रेसीहरुले बनाउन जरुरी छ । हुन त केन्द्रसम्म पनि काँग्रेसका नेताहरु पत्रकारको उपयोग मात्रै गर्छन् सहयोग गर्दैनन् भन्ने आरोप लाग्ने गरेको छ पहिला त्यसलाई तोड्नुपर्छ । प्रेसयुनियन र पार्टी बिचको सम्बन्ध जति नजिक हुनसक्छ काँग्रेस त्यति बलियो हुनेछ । काँग्रेसका नेताहरुले काखी च्याप्ने क्रान्तिकारी पत्रकारहरुले बसको यात्रा गरिरहदा रामपूरमा अखिलको आक्रमणमा परेका नेविसंघका कार्यकर्ताहरुलाई “बसबाट लडेर घाईते ” शिर्षकमा समाचार लेखेको कुरा दाईलाई अवगत नै होला । त्यसैले को आफ्नो हो र को पराई भन्ने कुरा चितवनको काँग्रेसले पनि बुझ्न जरुरी छ । आज कतिपय स्कुलहरुमा अखिलको रातो फेटा बाधेका किशोरहरु भेटिन्छन् तर नेविसंघका विद्यार्थी खोज्न गा¥हो पर्छ । तसर्थ नेविसंघको संगठन स्कुल तहसम्म पु¥याउने अभियानमा दाईले निर्णायक भूमिका खेल्नु आवश्यक छ । यस्ता धेरै कुराहरु छन् जसमा दाईसंग चितवनका काँग्रेसीहरुले ठूलो अपेक्षा राखेका छन् । दाईको कार्यकालमा ती अपेक्षाहरु पूरा हुनेछन् भन्ने अपेक्षा लिएको छु । आसन्न महाधिवेशनमा प्रतिनिधी भएर काठमाडौं आउने चितवनका प्रतिनिधीहरुले महाधिवेशनमा सार्थक सहभागिता गर्नेछन् भन्ने अपेक्षा लिएको छु ।

अन्त्यमा यी अपेक्षा र आग्रहहरुलाई दाईले सुझावको रुपमा लिनुहुनेछ भन्ने अपेक्षा गरेको छु । यतिबेला चितवन काँग्रेसको गाडी हाक्ने ड्राईभरमा तपाई नियुक्त हुनुभएको छ । तपाई कसरी गाडी हाक्नुहुन्छ र कहांसम्म पु¥याउनुहुन्छ भन्ने कुराले तपाई स्वंयको पनि गन्तब्य सुनिश्चित गर्नेछ । सफलताको लागि शुभकामना

No comments:

Post a Comment