गगन थापा,सहरमा जसको चर्चा छ । नेपाली काँग्रेसको १२ औं महाधिवेशनबाट लोकप्रिय मत प्राप्त गरेर बिजयी केन्द्रिय सदस्य । महाधिवेशनले ६१ जनालाई केन्द्रिय सदस्य बनाएको छ तर सबैभन्दा बढी चर्चाका पात्र गगन बनेका छन् । विद्यार्थी नेतादेखि युवा नेता हुदै उनी काँग्रेसको केन्द्रिय सदस्यसमेत बनेका छन् यतिबेला । यो उनको ठूलो राजनितीक फड्को हो । त्यसको उचाई कायम राख्न उनकासामु ठूलो चुनौती पनि रहेको छ ।
छोटो समयमै राजनितीको लामो दूरी तय गर्न गगन सफल भएका छन् । लोकतान्त्रिक आन्दोलनका समयमा उनको भाषणले मात्रै पनि आन्दोलनकारीहरुलाई शक्ति प्रदान गरेको हुन्थ्यो । त्यसैले पनि उनी लोकप्रिय हुदै गए । नेपाली काँग्रेसले संवैधानिक राजतन्त्रको गुणगान गाईरहदा उनी गणतन्त्रको नारा घन्काईरहेका हुन्थे । त्यसैले पनि तत्कालीन निरकुंश राजतन्त्रको विरोध गर्नेहरु उनका समर्थक बने । गगन थापा आफ्नै पार्टीभित्रका आलोचित पात्र पनि हुन् । काँग्रेसी चियागफहरुमा गगनका कमजोरीहरुको चर्को आलोचना भईरहन्छ,सायद त्यसभित्र प्रतिशोधको भावना पनि लुकेको होला । तर गगनसंग कुनै प्रतिशोध राख्न नपर्ने माओवादी उपाध्यक्ष डा.बाबुराम भट्टराईकै भनाईमा पनि गगन भविष्यमा केही गर्नसक्ने आशावादी नेता हुन् । भट्टराई गगनको राजनितीक भविष्यका बारेमा त्यत्तिधेरै विश्वस्त देखिन्छन् कि त्यत्ति विश्वास त उनलाई गगनको पार्टीको भविष्यका बारेमा पनि लाग्दैन । यस्ता अनेकन सत्यहरु छन् जसले गगनको राजनितीक साखलाई दिनदिनै बढाउदै लग्यो । तर यी सबैकुरा गगनको नाम सुन्ने सबैलाई थाहा छ । थाहा नभएका र विचार नपुगेका धेरै कुराहरु छन् जसले गगन थापालाई आजको स्थितिमा पु¥याउन मद्दत ग¥यो ।
गगन थापा काँग्रेसको केन्द्रिय राजनितीमा पुग्नु काँग्रेस र काँग्रेसीहरुको लागि कुनै ठूलो उपलब्धी होईन । यो नितान्त्त गगनको उपलब्धी हो र उनले उपलब्धीको सही रक्षा गर्न सकेमात्रै काँग्रेस र काँग्रेसजनले केही उपलब्धी पाएको महसुस गर्ने छन् । त्यसका लागि केही समय कुर्नैपर्ने हुन्छ । गगन थापाकै समकक्षी अन्य युवाहरुले पनि अहिलेको केन्द्रिय समितिमा स्थान पाएका छन् । तर सहरमा तिनको चर्चा कम छ । सायद बाजुरामा गगन केन्द्रमा आएको भन्दा पनि बद्री पाण्डे केन्द्रमा आएको कुराको बढी चर्चा भईरहेको होला । बद्री पाण्डेको प्रसंग जोड्नुको सान्दर्भिकता यहाँनेर छ कि गगन र बद्रीका बिचमा धेरै समानताहरु छन् । गगनले जत्तिको सपना उनले पनि देखेका छन् । दुवैजना युवा काँग्रेसी नै हुन् । दुवैजना नेविसंघका पूर्वमहामन्त्री पनि हुन् । अहिले दुवै काँग्रेसको केन्द्रिय सदस्य बनेका छन् । तर गगनको जति चर्चा छ,त्यति बद्रीको छैन ।
कारण धेरै छन्,गगनका राजनितीक सफलता पछाडीका । राजधानी काठमाडौंमा उपलब्ध सबैखालको सुविधा आत्मसाथ गर्न गगनलाई अप्ठ्यारो थिएन । त्यसैले पनि उनको राजनिती सहज बन्यो । गगनले राजधानीको महँगो बोडिङ पढ्दै गर्दा बद्री पाण्डे बाजुराको कुनै गाउमा घण्टौ हिडेर स्कुल पुगे होलान् । गगन पूर्व सञ्चारकर्मी पनि हुन् । राजधानीका मुख्यमुख्य सञ्चारगृहमा उनको पहँुच सधै हाबी भयो । बद्री पाण्डेको नामैमात्रै पनि धेरै काँग्रेसीले चुनावको परिणाम पछि सुनेका होलान् । कारण उनी मिडियाको नजरमा परेनन् । लोकतान्त्रिक आन्दोलनताका गगन नेविसंघका महामन्त्री थिए । त्यसैले पनि आन्दोलनका सभाहरुमा उनले स्थान पाए । सायद नेविसंघका पूर्व अध्यक्ष विश्वप्रकाश शर्माले समयमै अधिवेशन नगरेर अहिलेको नेविसंघजस्तै गरी अगाडी बढेको भए आन्दोलनताका गगन नेविसंघको महामन्त्री पनि हुन्थेनन्,सायद आन्दोलनका सभामा वक्ता बन्नुपनि उनका लागि कठिन हुन्थ्यो होला । समग्रमा गगन काँग्रेसी राजनितीभित्रका एक भाग्यमानी पात्र हुन् । उनमा युवा जोश छ,अध्ययनशीलता छ,तर्क छ र लोकप्रियता पनि छ । त्यसका बाबजुद पनि राजधानीको सुविधा र सहजता गगनको राजनितीक उचाईको अर्को सहयोगी पाटो हो ।
गगन थापा नेपाली काँग्रेसभित्रका अपवाद होईनन्,उनीजस्ता धेरैछन् । काँग्रेसको राजनितीमा केही गरौं भनेर लागेका निष्ठावान्,तर्कशील,लगनशील र ईमान्दार युवाहरुको कमी छैन । तर पनि सबैजना गगन बन्न सकिरहेका छैनन् । सबैसंग राजधानी छैन,सञ्चारमाध्यमसंगको सामीप्यता छैन र त उनीहरु पछाडी छन् । यो यथार्थ गगनलाई समेत अवगत हुनुपर्छ । किनकी सहर केन्द्रित राजनिती गरेको आरोप उनलाई लाग्ने गरेको छ । यो आरोपलाई अब गगनको भूमिकाले मात्रै निरर्थक सावित गर्न सक्छ । सायद यो आरोपलाई पन्छाउनुपनि गगनको अबको जिम्मेवारी हो ।
गगन सुविधामा हुर्किए,केन्द्रिमा छाए र नेता भए,यो वास्तविकता हो । तर त्यो भन्दा निकै टाढा गगन थापाको अर्को विशेषता छ । त्यो कुनै नेताविशेषको पछि नलाग्ने । गगनजत्तिकै लाग्ने अन्य युवा काँग्रेसीहरु ठूला नेताको फेरी समातेर राजनिती गर्न खोज्छन्,त्यो दुष्कामबाट टाढा गगन धेरै पर देखिन्छन्,आजका मितीसम्म । यदी अन्य युवा नेताहरुले ठूला नेताको आशीर्वादको पछाडी लाग्न छोडेभने काँग्रेसमा युवाहरुको उपस्थिति संख्यात्मक रुपमा मात्रै नभई गुणात्मक रुपमै सबल हुनेछ ।
अन्त्यमा,गगन केन्द्रमा पुग्नु मात्रै काँग्रेसीहरुको लागि सफलता होईन । गगनजस्ता अन्य युवाहरुलाई पनि त्यो स्थानमा पु¥याउनुमा काँग्रेसीहरुको सफलता झल्किने छ । सबैतिर चर्चित,लोकप्रिय र देखिएका गगन बल्ल केन्द्रमा पुगेका छन्,अब नदेखिएका दुरदराजका अन्य गगनहरुलाई पनि त्यो स्थानसम्म पुर्याउने हो भने काँग्रेस साच्चैको नया बन्नेछ । काँग्रेसभित्र नदेखिएका गगनहरु पनि छन्,जसको खोजी अब छिट्टै काँग्रेसजनले गर्नुपर्छ । देखिएका गगनलाई बधाई छ , नदेखिएका गगनहरु पनि छिट्टै देखिने हैसियतमा पुगुन् । शुभकामना ।
२०६७ साल असोज १४ को नागरिक दैनिकमा प्रकाशित
Wednesday, September 29, 2010
Wednesday, September 22, 2010
शुसील कोईराला ,एक निष्ठावान् नेता
पिता बोधप्रसाद र माता कुमुदनी कोईरलाका ९ जना सन्तानमध्येका साईला छोरा हुन् शुसील कोईरला । जन्मकुण्डली हराएकोले उनको वास्तविक जन्ममिति कहिले हो त्यसको जानकारी कसैलाई छैन,तर विद्यालयमा भर्ना हुनेबेला उनको अन्दाजमा जन्ममिती वि.सं १९९४ माघ २१ गते बिहीबार राखिएको थियो । विराटनगरमा जन्मिएका कोईरालाको बाल्यकालको केही समय त्यही बित्यो । त्यसपश्चात कञ्चनपूर हुदै नेपालगञ्ज पुगेर उनले प्रारम्भिक शिक्षा पूरा गरे । उनले हाईस्कुल पढ्न थाल्दा देशमा राणाविरोधी क्रान्ति अन्तिम चरणमा पुगिरहेको थियो । सानैदेखि विपी कोईरालाको परिवारसंग निकटता भएकोलेपनि उनमा विपीको ठूलो प्रभाव परेको थियो । त्यसैले सानैदेखि उनी राणविरोधी आनदोलनका पर्चा पम्प्लेटहरु बाड्दै हिड्थे ।
२००७ सालको क्रान्तिपछि अध्ययनका लागि उनी बनारस पुगे । उनले बि.ए. पास गर्ने तयारी गर्दैगर्दा नेपालमा राजा महेन्द्रले कु गरेर प्रजातन्त्रको चीरहरण गरे । नेपालमा विपी कोईराला लगायतका नेताहरु पक्राउ परेपछि शुसीलले भारतमा नै पञ्चायतविरोधी क्रियाकलापहरु सञ्चालन गरिरहे । पञ्चायतकालमा विमान अपरण गरेको आरोपमा उनले लामो समय भारतमा जेलसजाय भोगेका थिए । २०३६ सालको जनमतसंग्रह हुनुभन्दा १५ दिनअघि मात्रै उनी स्व.गिरिजाप्रसाद कोइएरालासंग नेपाल फर्किएका थिए ।
२०४२ सालको सत्याग्रहमा पनि पटकपटक जेलनेल भोगेका शुसील कोईराला त्यसअघि नै २०३५ सालमा नेपाली काँग्रेसको केन्द्रिय सदस्य भईसकेका थिए । विपी कोईरालको निधनपश्चात पार्टीको कामका सिलसिलामा विदेश भ्रमण जानुपर्दा उनले आफ्नो जग्गासमेत बेचेर खर्चको जोहो गरेका थिए ।
२०४८ सालको आम निवार्चनमा बाके क्षेत्र नम्बर २ बाट निर्वाचित भएपनि उनी कहिल्यैमन्त्री भएनन् । परराष्ट्रमन्त्री बन्नका लागि पार्टीका शीर्ष नेताहरु गणेशमानसिंह,कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोईरालाको आग्रहलाई उनले अस्वीकार गर्दै पार्टीको कामका लागि आजीवन क्रियाशील हुने प्रण गरेका थिए । २०५१ को झापा महाधिवेशनपश्चात काँग्रेसको विदेश विभाग प्रमुख भए । त्यसपश्चात २ पटक महामन्त्री बनेका कोईराला उपसभापति, कार्यबाहक सभापति हुदै हाल काँग्रेसको निर्वापचित सभापति समेत बनेका छन् ।
नेपाली काँग्रेसभित्र निष्ठाको राजनिती गर्ने र त्यागी नेताका रुपमा उनले आफूलाई सधै प्रस्तुत गर्दै आईरहेका छन् । हालसम्म कुनैपनि लाभको पदधारण नगरेका कोईराला सभापतिमा बिजयी हुनको लागि पनि उनको निष्ठावान् र त्यागी छविले नै सहयोग गरेका उनलाई बुझ्नेहरुको भनाई छ । शुसील कोईरालाले संगठनभित्र धेरै विवादहरुको सामनासमेत गरेका छन् । कोठे राजनिती गर्ने,गुटमा विश्वास गर्ने र भातृसंगठनहरुमाथि अनावश्यक हस्तक्षेप गर्नेगरेको आरोप उनलाई पार्टीभित्रबाटै लागिरहेको छ । तर पनि बार्हौं महाधिवेशनबाट उनी सभापति पदमा निर्वाचित भएका छन् । सभापति बनेलगत्तै स्वास्थ्यमा समस्या देखिएर उनी अहिले उपचाररत छन् । तरपनि उनमा जिम्मेवारी बढेको छ र आफ्नो राजनितीक जीवनमा लागेका यावत् आरोपहरुलाई गलत सावित गर्ने अवसर पनि उनले पाएका छन् । विपी कोईराला र गिरिजाप्रसाद कोईरालालाई आफ्नो आदर्श ठान्ने शुसील कोईरालाले सभापति रुपमा नेपाली काँग्रेसलाई कसरी अगाडी बढाउछन्,त्यो भने भविष्यको गर्भमा नै रहेको छ ।
Wednesday, September 1, 2010
संसदीय ब्यवस्थामा माओवादी
नकुल अर्याल
पाँचौपटकको चुनावमा पनि प्रधानमन्त्री बन्न नसकेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रचण्ड शैलीमा संसदीय ब्यवस्था असफल भएको दाबी गरे । संसदवादी दलहरु प्रचण्डको अभिब्यक्तिलाई “नाच्न नजान्ने आँगन टेढो” भन्ने आरोप लगाए । आरोप लगाउनेहरुले सोचेनन् कि प्रचण्डको दाबीका पछाडीका कारकहरु के–के हुन् ।
संसदीय अङ्कगणितलाई स्वीकार्ने हो् भने माओवादी देशकै सबैभन्दा ठूलो संसदीय शक्ति हो । प्रजातान्त्रिक अभ्यास भएका मुलुकहरुमा संसदको ठूलो दलले सरकार मात्रै बनाउदैन,उ सिंगो ससंदीय ब्यवस्थाको रक्षक पनि हुन्छ । यद्यपी यो यथार्थलाई माओवादीले स्वीकारेको छैन । अझ माओवादीकै भनाईमा उनीहरु संसदीय ब्यवस्थामा कत्तिपनि विश्वास गर्दैनन् । प्रधानमन्त्री भएका बेला एकपटक प्रचण्डले संसदमै भनिदिए कि माओवादी संसदीय ब्यवस्थामा विश्वास गर्दैन । त्यतिबेला अहिले आफूलाई संसदवादी बताउने ठूला पार्टीहरुले विरोध त के नियमापत्ति समेत जनाउन सकेनन् । जसले संसदविरोधी माओवादीलाई थप ऊर्जा दियो । प्रचण्डको पछिल्लो अभिब्यक्ति त्यही ऊर्जाको प्रतिफल हो । संसदको सबैभन्दा ठूलो दलको नेता भएका प्रचण्डले सिंगो ब्यवस्थालाई असफल घोषणा गरिदिए । जुन स्वभाविक पनि हो । जितको सन्देश दिन जोकोही बिजेता आतुर हुन्छ । भलै प्रधानमन्त्री चुनावमा प्रचण्ड हारिरहेका छन् तर संसदीय ब्यवस्थालाई असफल बनाउने उनको निहित स्वार्थ पूरा गर्ने क्रममा उनले क्रमशः जित हात पारिरहेका छन् ।
माओवादी संसदीयब्यवस्थाका बारेमा धेरै प्रष्ट छ । उसले कहिल्यै पनि संसदीय ब्यवस्था स्वीकार गरेको छैन । माओवादी जनवादी ब्यवस्था चाहान्छ र त्यसको लागि जनविद्रोह समेतको तयारी उसले गरिरहेको छ । संसदीय ब्यवस्था स्वीकारेको झैं गरेर माओवादीले ससदवादी शक्तिहरुको ढाडमा टेकेर टाउकामा हान्ने तयारी गरेको छ । जसलाई काँग्रेस एमाले लगायतका दलहरुले बुझ्न सकेका छैनन् । संविधानसभाको निर्वाचनमा सहभागि भएको आधारमा मात्रै माओवादीलाई संसदीय परिधिभित्र ल्याएको सपना देख्नु नै अन्य संसदवादी दलहरुको कमजोरी हो । माओवादी न हिजो संसदलाई सफल देख्थ्यो,न आज उ संसद सफल हुन दिन्छ न त भविष्यमा नै । त्यसको पछिल्लो उदाहरण प्रधानमन्त्रीका चुनावहरुमा देखिएका गैरसंसदीय क्रियाकलापहरु नै हुन् । प्रधानमन्त्री चुनाव अगाडी २५ दल भएको संविधानसभामा अहिले २७ दल पुगेको छ । संसदभित्रको निर्णायक हिस्साले प्रजातान्त्रिक ब्यवस्थाको सुन्दरता मानिने मतको अधिकारलाई तटस्थाताको घेराले बन्धकमा पारेका छन् । संसदहरु ख्रिदबिक्रीमा परेका तथ्यहरु सार्वजनिक भईरहेका छन् । यस्ता गैरसंसदीय क्रियाकलाप जो माओवादीको संसदीय ब्यवस्थालाई असफल सावित गर्ने रणनितीका सहयोगी मात्रै बनेका छन् ।
संसदीय ब्यवस्था आफैमा सफल अथवा आफैमा असफल ब्यवस्था होईन । संसदीय ब्यवस्थाको सफलता अथवा असफलता त संसदभित्रका दलहरुको क्रियाकलाप र स्वार्थले निर्धारण गर्छ । जब संसदको सबैघन्दा ठूलो शक्ति नै संसदीय ब्यवस्थाको विपक्षमा छ भने त्यहाँ संसदीय ब्यवस्था निश्चय पनि असफल नै हुन्छ । यो यथार्थलाई नेपालका संसदवादी शक्तिहरुले स्वीकार्नै पर्छ । माओवादी अहिलेको संसदीय बयवस्थाको उपयोग गरेर जनवादी सत्ता स्थापना गर्ने लक्ष्यका साथ अगाडी बढीरहेको पार्टी हो । यो हिसाबले गर्दा संसदीय ब्यवस्था उसको उपयोगितावादको राजनितीको अर्को कित्ता मात्रै हो । तर,सबैले बुझ्नुपर्ने कुरा के हो भने माओवादी किन दोधारे निती बोकेर हिडिरहेको छ । यदि उ संसदीय ब्यवस्थाबाट मुलुकको हित देख्दैन भने उपयोगको नाममा किन संसदभित्र अल्झिरहेछ ? यही प्रश्न माओवादी नेताहरुलाई गर्ने हो भने उनीहरु संसदीय ब्यवस्थालाई सुधार्दै जनवादी ब्यवस्थामा रुपान्तरण गर्न लागिपरेको बताउछन् । अब यहानेर माओवादी नेताहरुसंग मेरो जिज्ञाशा,तपाईहरुलाई थाहा छ कि बोकोले दाँइ गर्दैन र दाँइ गर्न गोरु नै चाहिन्छ । यति थाहा हुदाहुदै पनि किन माओवादी बोको पालेर दाँइ गर्ने सपना देखिरहेछ । हिम्मत भए उसले अहिले नै गोरु पाल्ने आँट गर्न‘पर्छ । होईन भने बोकोलाई जति दानापानी खाएपनि उ गोरु बन्न सक्दैन माओवादीले राम्रोसंग बुझोस् । माओवादीको बुझाईले साच्चिकै संसदलाई असफल देखेको हो भने,आफ्ना सबै सांसदहरुलाई राजीनामा दिन लगाएर असफल संसदको भत्ता बुझ्नबाट बञ्चित गराउन सक्नुपर्छ । विद्यमान संसदीय ब्यवस्थाको विकल्प सार्वजनिक गरेर त्यसको स्थापनामा लाग्नुपर्छ । संसदीय सुविधा भोगेर संसदीय ब्यवस्थालाई असफल बनाउने रणनिती जति लम्बिन्छ माओवादी त्यति नै पछाडी पर्छ ।
–२०६७ भदौ १७ गतेको नागरिक दैनिकमा प्रकाशित
Subscribe to:
Posts (Atom)